काठमाडौं । सेयर बजारमा पछिल्लो समय निरन्तर कारोबार रकम बढिरहेको छ । सेयर बजारमा कारोबार रकमसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक पनि बढिरहेको छ । ३२ सय अंकमा पुगेको सेयर बजार ओरालो लाग्दै १८ सय विन्दुमा झरेपछि लगानीकर्ता आत्तिएका थिए । तर, पछिल्लाे समय बजारले लय समातेर उकालाे लागेकाे विश्लेषण धेरैले गरेका छन् ।
५० करोडमा झरेकाे काराेबार बिहीबार सवा ३ अर्बकाे बढी पुग्याे भने बुधबार ५ अर्ब बढीकाे काराेबार भयाे । डेढ महिना अघिसम्म नेप्से बिन्दु १८१८ अंकमा थियो । सो बिन्दु पुनः उकालो लाग्दै २ हजार ४२ अंकमा पुगेको छ । अबको केही दिनमै बजार बढेर २ हजार २ सय अंकमा पुग्ने विश्लेषण लगानीकर्ताकाे छ । यो वर्षभर सेयर बजार सूचकलाई २८ सय अंक पुग्न सक्ने विश्लेषण रहेकाे एक लगानीकतर्ताले बताए । राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गर्ने मौद्रिक नीतिसम्म बजार बढेर २२ सय अंक पुग्ने प्रक्षेपण उनकाे छ ।
उनका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटेका कारण लगानीकर्ताको मनोबल बढेको छ । साथै, बैंकहरुमा निक्षेप थुप्रिएर सेयर कर्जा लिनका लागि बैंकरहरुले फोन गरेर बोलाउन थालेपछि बजार बढ्न थालेको उनको भनाइ छ । राष्ट्र बैंकले सेयर बजारसँग सम्बन्धित नीतिहरुलाई आगामी वर्षको मौद्रिक नीतिमा खुकुलो गर्न सक्ने अनुमान गरेका कारण पनि बजार बढ्न लागेको उनले बताए । अर्थतन्त्र चलायमान गर्नका लागि भएपनि लचिलो मौद्रिक नीति आउने उनको अनुमान छ ।
‘बैंकको निक्षेप र कर्जाको ब्याज घटिरहेको छ, बैंकहरुले सेयर बजारलाई जोड दिइरहेका छन्, बैंकमा पैसा थुप्रिएपछि चलायमान गर्न सेयर कर्जा भटाभट दिइरहेका छन् तर, १२ करोडको सीमा तोकिएको हुँदा त्यो भन्दा बढी लिन पाउँदैनन्,’ उनले भने, ‘राष्ट्र बैंकले मौद्रिक नीतिमा सेयर बजारसँग सम्बन्धित नीति केही खुकुलो ल्याउन सक्ने अनुमान लगानीकर्ताहरुले गरेका छन्, १२ करोडको सीमा हट्छ हट्दैन त्यो भन्न सकिँदैन तर, अहिलेको मन्दीलाई हटाउन अर्थात् पैसा चलायमान गर्न खुकुलो मौद्रिक नीति आवश्यक छ ।’
अहिले जीवन बीमा, निर्जीवन बीमा र होटल क्षेत्रले लिड गरिरहेको भएपनि अब हाइड्रोपावर, विकास बैंक, फाइनान्स समूहको सेयर मूल्य बढ्न सक्ने उनको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका भने कमजोर अवस्थाका कम्पनीहरुको सेयरमा म्यानुपुलेट गरेर बजार बढाइरहेको तर्क गर्छन् । राम्रा कम्पनीहरुको सेयर मूल्यलाई मात्रै गणना गर्ने हो भने सेयर बजार सूचक १ हजार अंक मात्रै पुग्ने उनको तर्क छ ।
‘काम नलाग्ने कम्पनको सेयर मूल्य बढाएर बजारलाई उच्च बनाएका छन्, केही लगानीकर्ताहरुले वित्तीय अवस्था कमजोर भएका कम्पनीको सेयर मूल्यमा म्यानुपुलेट गरेर बजार बढाइरहेका छन्,’ उनले भने, ‘राम्रा कम्पनीको सेयर मूल्य क्याल्कुलेशन गर्ने हो भने बजार अहिले पनि १ हजार अंक मात्रै पुगेको छ ।’
बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दै गएकाले सेयर बढ्ने उनको तर्क छ । साथै, सेयर बजारमा लगानीमैत्री वातावरण बन्दै गएको उनको भनाइ छ ।
सेयर अध्येता अम्बिर बोगटी सेयर बजार बढेर छिट्टै ५४३० को बिन्दुमा पुग्ने बताउँछन् । अहिले लगानीकर्ताको लगानी ४२/४३ प्रतिशतले घटेको भएपनि विस्तार बढ्दै जाने उनले बताए । उनका अनुसार तथ्याङ्क विश्लेषण गर्दा ४/५ वर्षमा बजारको फिगर घट्ने र बढ्ने गरेको देखिन्छ । साथै, सेयर बजार ३ वर्ष घट्ने र २ वर्ष बढ्ने वितगको तथ्याङ्कले देखाएको उनको भनाइ छ
‘अब नेप्से परिसूचक ३२ सय अंकको फिगरलाई आधार मान्दा वि.सं.२०८२ असारमा सेयर बजार १६०/१७० प्रतिशत बढेर नेप्से परिसूचक ५४०० अंक सम्म पुग्ने देखिन्छ, वि.सं.२०८० बैशाखको नेप्से परिसूचक १८०८ अंकलाई आधार मान्दा ३०० प्रतिशत फिगर बढ्न सक्ने देखिन्छ,’ उनले भने ।
बिगत १५ बर्षको सेयर बजारको उतारचढाबको आधारमा नेप्से परिसुचक ५४०० अंक सम्म पुग्न सक्ने आकलन गरिएको उनको भनाइ छ । किनकी हरेक ५ वर्षमा ३ वर्ष बजार घट्ने र २ वर्ष बढेको विगतको इतिहासले देखाएको उनले बताए ।
‘ब्यापार व्यवसाय चलायमान भइरहेको छ, सर्वसाधारणको दैनिकी पनि पुरानै अवस्थामा फर्किरहेको छ, रुस र यूक्रेन युद्ध पनि समाधान उन्मुख हुँदै गएको भएर इन्धनको मूल्य पनि घटिरहेको छ, सरकारले गैह्र आवासीय नेपालीलाई सेयर बजारमा लगानी खुल्ला गराउने र पूँजी बजारको संरचनागत सुधार गर्ने तथा लगानीमैत्री नीति नियमहरु सहज बनाउन तदारुकता देखाएको छ,’ उनले भने, ‘विगत ३ महिनादेखी बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटिरहेको छ र आगामी दिनहमा अझ घट्न सक्ने देखिएको छ, देशमा आर्थिक गतिविधि बढ्दै गइरहेको छ, उद्योगधन्दाहरु चलायमान भइरहेका छन् ।’
ब्याजदर र बजारको सम्बन्ध उल्टो रहेको उनले बताए । उनका अनुसार ब्याजदर बढ्दा बजार घट्ने र ब्याजदर घट्दा बजार बढेको विगतको इतिहास छ । ब्याजदर बढेपछि बजार जहिले पनि घटेको उनले बताए ।
‘जब तरलता अभाव हुन थाल्यो, बैंकले निक्षेपको ब्याजदर बढाउन थाले, बैंकका कर्मचारी घरघर पठाएर निक्षेप उठाउन थाले भने अब बजार घट्छ भनेर अनुमान गर्नु पर्छ, जब कर्जा लिन आउनुहोस् भनेर बैंकहरुले भन्न थाल्छन् तब बजार बढ्छ, अहिले पनि ब्याजदर निक्षेपमा घटिसकेको छ, अब ब्याजदरका कारण बजार प्यानिक हुँदैन,’ उनले भने ।
स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटा पूँजी बजारको विकासका लागि ब्रोकरको पहुँच, प्रडक्ट र पूर्वाधारको विकास हुनुपर्ने बताउँछन् । साथै, इन्ट्रा डे कार्यान्वयनमा ल्याए दैनिक १ सय अर्बको कारोबार हुने उनको भनाइ छ ।
‘इन्ट्राडे र सट्स सेल लागू गरेर अर्थतन्त्रलाई चलायमान बनाउनु पर्छ, प्रडक्ट विस्तारमा तीब्र गतिमा कुद्नु पर्छ, यदि इन्ट्रा डे कार्यान्वयनमा ल्याउने हो भने दैनिक १ सय अर्बको कारोबार हुन्छ, किनभने इन्ट्राडे लागू भएपछि अहिले भइरहेको ५/१० गुणा कारोबार बढाउँछ,’ उनले भने ।
लगानीकर्ताको सचेतना बढाएर मात्रै पूँजी बजारको पहुँच विस्तार गर्नुपर्ने उनको धारणा छ । दोस्रो बजार सूचनाको बजार रहेको उनले बताए । साथै, पूँजी फर्मेसनका लागि पूँजी बजार सञ्चालनमा आएको उनको भनाइ छ ।
‘घरघरमा भएको पूँजीलाई क्यापिटलको रुपमा फर्मेसन गर्न पूँजी बजार आएको हो, प्राथिमक बजारमा आईपीओ मार्फत हुन्छ, प्राथमिक बजारमा फर्मेटेड भएको क्यापिटल त्यतिकै बस्न सक्छ, यो पूँजी त्यतिकै अड्किन नदिनका लगि दोस्रो बजार हो, दोस्रो बजारले तरलता सिजना गर्छ,’ उनले भने, ‘दोस्रो बजारमा सूचनाका बारेमा राम्रोसँग बुझेको ब्यक्तिले मात्रै प्रवेश गर्ने हो, राम्रोसँग बुझेर कम्पनी छनोट गर्न सक्ने ब्यक्तिलाई पूँजी बजारमा सहज हुन्छ, पहुँच विस्तारलाई मात्रै मान्यता दियो भने अन्ततः ठूलो दुर्घटनामा पर्न सकिन्छ, त्यसकारण पहुँच विस्तार भन्दा पहिला सचेतना दिनुपर्छ ।’