काठमाडौं । आइतबारको नेप्से परिसूचक इन्ट्रा डे कै उच्च बिन्दुमा पुगेको छ । कारोबार खुलेदेखि उतारचढाव देखिएको परिसूचक कारोबारको अन्तिम चरणमा भने निरन्तर रुपमा बढेर करिब २१ सय नजिक पुगेको छ ।
समग्रमा परिसूचक ५२.२६ अंकले बढेर २०९४.३३ बिन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २.५६ प्रतिशतले बढी हो ।
त्यस्तै, कारोबार रकममा पनि सुधार भएको छ । दिनभरको कारोबारमा ४ अर्ब ८६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी शिवम् सिमेन्टस्को सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ३६ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।
त्यस्तै, सर्वाधिक कारोबार गर्नेको दोश्रो सूचीमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । जसको १६ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।
बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । १० कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये ६ वटा कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । जसमा नेपाल इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, ग्रीन भेन्चर, सुपर म्यादी हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, मेनछियम् हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
टप लुजरको सूचीको अग्रस्थानमा शुभम् पावर रहेको छ । जसको सेयर मूल्य ५.५८ प्रतिशतले घटेर प्रतिकित्ता ७२७ रुपैयाँमा झरेको छ ।
उच्च अंकले बढेको बजारमा बैंकिङ्ग बाहेक सबै समूहमा हरियाली छाएको छ । बैंकिङ्ग समूह भने ३.५५ अंकले घटेको छ ।