काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले घोराही सिमेन्ट इण्डष्ट्रीको आईपीओ निष्काशन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको छ । कम्पनीको रेटिङ्ग र मागभन्दा बढी आवेदन पर्दा पनि समय थप गरेको विषयमा बोर्डले निष्काशन प्रक्रिया रोकेको हो ।
बोर्डले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङलाई पत्र पठाउँदै सार्वजनिक निष्काशन कार्य तत्काल स्थगन गर्न निर्देशन दिएको हो । बोर्डले केयर रेटिङ्ग नेपाललाई कम्पनीको रेटिङ्ग नियम विपरित भए÷नभएको बारेमा ३ दिन भित्र स्पष्टीकरण पेश गर्न गत जेठ ३० गते पत्राचार गरेको थियो ।
केयर रेटिङ्ग नेपालले स्पष्टीकरण नपठाई बिना आधार समय थप माग गरेको थियो । साथै, आईपीओमा मागभन्दा बढी आवेदन परेपनि निष्काशन समय थप गरिएको भन्दै तत्तकाल स्थगन गर्न बोर्डले निर्देशन दिएको हो ।
‘कम्पनीको इस्युअर रेटिङ्ग, क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ३४ को उपनियम (२) विपरित भए÷नभएको बारेमा केयर रेटिङ्ग नेपाललाई ३ दिन भित्र स्पष्ट गरी पेश गर्न जेठ ३० मा पत्राचार गरिएकोमा हालसम्म जानकारी पेश नगरी उपयुक्त आधार बिना म्याद थपको लागी अनुरोध गरेको र आईपीओमा माग भन्दा बढी कित्ता सेयरको लागि आवेदन प्राप्त हुँदा पनि समयावधि थप गर्न सूचना प्रकाशित गरेको देखिएकाले लगानीकर्ताको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै कम्पनीको रेटिङ्ग र सार्वजनिक निष्काशन सम्बन्धी कैफियतको जाँचबुझका लागि हाललाई आईपीओ निष्काशनको सम्पूर्ण प्रक्रिया स्थगन गर्ने निर्णय भएको छ,’ बोर्डको पत्रमा भनिएको छ ।