
काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीको रेटिङ प्रक्रिया गैरकानुनी भएको बुझिएको छ । विशाल ग्रुपको स्वामित्व रहेको केयर रेटिङ नेपालले गैरकानुनी रुपमा घोराही सिमेन्टको रेटिङ गरेको बुझिएको हो ।
मुख्य लगानीकर्ता त्रिवेणी ग्रुपसँगै विशाल ग्रुपको पनि घोराही सिमेन्टमा लगानी छ । रेटिङ एजेन्सी केयर नेपालले आफ्नै कम्पनीको रेटिङ गरेपछि यसभित्र बदमासी भएको हुन सक्ने शंका नेपाल धितोपत्र बोर्डले पनि गरेको छ ।
सोही शंका गरेर नेपाल धितोपत्र बोर्ड (सेबोन)ले केयर रेटिङ नेपाललाई स्पष्टिकरण सोधेको थियो । तर, कम्पनीले त्यसको जवाफ नदिई समय थप्न अनुरोध गरेको बोर्डले जनाएको छ । केयर रेटिङ नेपाललाई पनि कम्पनीको रेटिङका विषयमा स्पष्टीकरण सोधेको भएपनि चित्तबुझ्दो जवाफ नआएको धितोपत्र बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले बताए । त्यसपछि बोर्डलाई शंका लागेर आईपीओ निष्काशन समेत रोक लगाएको उनको भनाइ छ ।
‘कम्पनीको रेटिङ्गका विषयमा बोर्डमा उजुरी परेपछि क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ३४ को उपनियम (२) विपरित भएरनभएको बारेमा गत जेठ ३० गते केयर रेटिङ्ग नेपाललाई ३ दिन भित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको थियो, तर, केयर रेटिङ्ग नेपालले स्पष्टीकरण नपठाई बिना आधार समय थप माग गरेपछि आईपीओ निष्काशन प्रक्रिया रोकेका हौं,’ श्रेष्ठले भने ।
क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ३४ मा क्रेडिट रेटिङ्ग संस्थाले गर्न नहुने तथा जानकारी प्रवाह गर्नु पर्ने विषयमा उल्लेख गरेको छ । उपनियम १ मा क्रेडिट रेटिङ्ग संस्थाले आफ्नो वा आफ्नो संस्थापक सेयरधनी, मूख्य सेयरधनी वा आफ्नो मुख्य संस्था वा सहायक संस्थाहरुको क्रेडिट रेटिङ्ग गर्न नहुने व्यवस्था छ ।
यस्तै, उपनियम २ मा क्रेडिट रेटिङ्ग संस्थाले आफ्नोे मुख्य सेयरधनी वा मुख्य सेयरधनी कुनै कम्पनीमा आधारभूत सेयरधनी भएमा त्यस्तो कम्पनीको क्रेडिट रेटिङ्ग गर्न नपाउने व्यवस्था छ । आधारभूत सेयरधनी भन्नाले प्रचलित कम्पनी ऐनमा भएको व्यवस्था बमोजिमको आधारभूत सेयरधनीलाई जनाउँछ ।
बोर्डले कम्पनीको आईपीओ निष्काशन प्रक्रिया स्थगन गरेसँगै आवेदन दिएकाहरुको हकमा के हुन्छ भन्ने चासोको विषय बनेको छ । कम्पनीको आईपीओमा आवेदन दिएकाहरुको रकम २ दिनसम्म होल्ड रहने सेबोनले बताएको छ ।
सोमबार पौने ५ बजेसम्म कम्पनीको आईपीओमा झण्डै १० अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार सोमबार ४ः४५ बजेसम्म कम्पनीको आईपीओमा ५ लाख ६२ हजार ४३ जना आवेदकले २ करोड २६ लाख १७ हजार ३७० कित्ताका लागि आवेदन दिएका छन् । जसमा उनीहरुले ९ अर्ब ८३ करोड ८५ लाख ५५ हजार ९५० रुपैयाँ बराबरको आवेदन परेको सिडिएससीले जानकारी दिएको छ ।
‘अहिलेलाई केही भन्न सकिँदैन, उहाँहरुले त्यो रकम चलाउन पाउनु हुन्न तर, यो रकम धेरै दिन होल्ड भएर बस्दैन, छानविन वा जाँचबुझ हुँदै छ, बोर्डले एकदुई दिनमै निर्णय गर्छ,’ श्रेष्ठले भने । उनका अनुसार यदि २ दिनमा अनुसन्धान सकिएन भने रकम फुकुवा गरेर अनुसन्धान निरन्तर जारी राखिनेछ ।
सम्बन्धित सामाग्री :
घोराही सिमेन्टको आईपीओ निष्काशन स्थगित गर्न सेबोनको निर्देशन
घोराही सिमेन्टको आईपीओमा बदमासी, पैसा नभएको खाताबाट लाखौंको आवेदन
घोराही सिमेन्टको ८१ प्रतिशत सेयर बिकेन, प्रतिकित्ता ३५ रुपैयाँ सस्तो दिँदा किनेनन् स्थानीयले
घोराहीको सेयर स्थानीयले नकिन्ने, पैसा उठाएर भाग्ने चिन्ता
घोराही सिमेन्टको आईपीओ मूल्य विवादमा, प्रत्याभूतिकर्ता सम्झौता भंग गर्ने पक्षमा