काठमाडौं । मंगलबारको सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक २६.५६ अंकले घटेर २०६४.८३ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.२७ प्रतिशतले घटी हो ।
बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । सोमबार ४ अर्ब ७४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा मंगलबार ४ अर्ब ११ करोड रुपैयाँमा सीमित भएको छ । २६८ वटा स्क्रीप्स कारोबारमा आएको मंगलबारको बजारमा एक करोड ७ लाख कित्ता सेयर खरिदबिक्री भएका छन् ।
बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन २० करोड ५७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । त्यस्तै, दोश्रोमा शिवम् सिमेन्ट रहेको छ । जसको १९ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
त्यस्तै, दोहोरो अंकले घटेको बजारमा पनि तीन कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । जसमा सिटी होटलको १० प्रतिशत, बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशतर र ईङ्वा हाइड्रोपावरको ९.९७ प्रतिशतले सेयर मूल्य बढेको छ । पहिलो पटक सेयर बजारमा कारोबार भएको ईङ्वा हाइड्रोको सेयर मूल्य प्रतिकित्ता ३२०.९० रुपैयाँ कायम भएको छ ।
बजारमा टप लुजरको शीर्ष स्थानमा यूनिक नेपाल लघुवित्त वित्तीय संस्था रहेको छ । जसको सेयर मूल्य प्रतिकित्ता ९.९९ प्रतिशतले घटेर प्रतिकित्ता १२२२.९० रुपैयाँमा झरेको छ ।
मंगलबार अधिकांश समूह राताम्मे देखिएका छन् । उत्पादनमूलक, ट्रेडिङ र इन्भेष्टमेन्ट समूह बाहेक बाँकी समूह राताम्मे देखिएका छन् ।