काठमाडौं । बुधबारको बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक १४.०५ अंकले घटेर २०५०.७८ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६८ प्रतिशतले घटी हो ।
त्यस्तै, कारोबार रकम पनि घटेर ३ अर्ब ४९ करोड रुपैयाँमा सीमित भएको छ । मंगलबार ४ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा एकैदिन ६२ करोड रुपैयाँ घटेको छ ।
कूल १७१ वटा स्क्रीप्स् कारोबार भएको बजारमा सबैभन्दा बढी शिवम् सिमेन्टसको सेयर किनबेच भएको छ । कम्पनीको एकैदिन २३ करोड ६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
बजारमा टप गेनरको सूचीमा दुई वटा होटल्स कम्पनी अग्रस्थानमा रहेका छन् । सिटी होटलको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ भने सोल्टी होटलको सेयर मूल्य ७.४४ प्रतिशतले सेयर मूल्य बढेको छ ।
बजारमा चार वटा समूहबाहेक सबै समूह राताम्मे देखिएका छन् । होटल्स एण्ड टुरिजम, जीवन बीमा, उत्पादनमूल्क र ट्रेडिङ समूह हरिया देखिएका छन् भने बाँकी समूह राताम्मे देखिएका हुन् ।