काठमाडौं । घोराही सिमेन्टमा जोखिम देख्दा पनि नागरिक लगानी कोष (सीईआटी)ले अण्डरराईटिङ गरेको भेटिएको छ । घोराही सिमेन्टको प्रिमियम मूूल्यमा जारी गरिरहेको आईपीओमा जोखिम देखेर पनि बढी शुल्क लिएर अण्डरराईटिङ गरेको सीआईटी स्रोतले बताएको छ ।
अण्डरराईटिङ सम्झौता गर्दा कम्पनी बलियो अवस्थामा रहेका वित्तीय विवरण थिए । सम्झौता पछि भने कम्पनी खस्किएको उनले बताए । स्रोतका अनुसार धितोपत्र बोर्डले प्रिमियम मूल्य घटाएर आईपीओ जारी गर्न दिनु पर्ने थियो । तर, बोर्डले मूल्य नघटाएर नै आईपीओ जारी गर्न दिएको उनको भनाइ छ ।
‘सीआईटी र कम्पनीबीच अण्डरराइटिङ सम्झौतामा यदि सेबोनल मूल्य परिवर्तन गरेको खण्डमा सोही अनुसार शुल्कमा पनि तलमाथि गर्न पाउने शर्त उल्लेख छ, त्यतिबेला मलाई पनि शंका लागेको थियो, यो मूल्य बढी थियो, सेबोनले घटाउँछ की भन्ने आशा थियो तर, घटाएन,’ सीआईटी स्रोतले भन्यो ।
३३५ रुपैयाँ प्रिमियम जोडर ४३५ रुपैयाँमा जारी गर्न सेबोनले अनुमति दिएकोमा उनले शंका ब्यक्त गरे । सेयर निष्काशन गर्नु अघिसम्म पनि सेबोनले चाहेको भए मूल्य घटाउन सक्ने उनको भनाइ छ । कम्पनी र सीआईटीबीच बार्गेनिङ भएर नै अण्डरराईटिङ शुल्क निर्धारण गरेका हुन् ।
‘जुनसुकै अण्डरराइटरले शुल्कमा बार्गेनिङ गर्छन्, जोखिम बढी भयो भने अण्डरराईटरले बढी शुल्क लिन खोज्छन् । कम जोखिम छ भने सस्तो मूल्यमा पनि अण्डरराईटिङ गर्छन्,’ उनले भने, ‘निफ्राको जोखिम कम भएको हुँदा सीआईटीले सस्तो मूल्यमा अण्डरराईटिङ गरेको थियो तर, घोराहीमा जोखिम बडी देखेपछि सीआईटीले बढी शुल्क लिएको हो ।’
स्रोतका अनुसार घोराही सिमेन्टको अण्डरराईटिङ गरेवापत सीआईटीले ७२ लाख रुपैयाँ शुल्क लिएको छ । अण्डरराइटिङको शुल्क धितोपत्र बोर्डले निर्धारण गरे अनुसार नै लिएको उनको दाबी छ ।
‘प्रिमियम मूल्य तोक्ने अधिकार सबोन र कम्पनीको हो, बिक्री प्रबन्धक र अण्डरराईटरलाई मूल्य तोक्ने अधिकार र आधिकारिकता छैन, सेबोन र कम्पनीको संलग्नतामै ४३५ रुपैयाँ मूल्य तोकिएको हो,’ उनले भने, ‘मूल्य तोकिसकेपछि मात्रै हामीले सम्झौता गरेका हाैं, सीआईटीले पनि जोखिमको विश्लेषण गरेको हो, धेरै जोखिम देखेपछि महँगोमा अण्डरराइटिङ गरेको हो ।’
सीआईटीले घोराही सिमेन्टको आईपीओमा कमजोरी गरेको उनले स्वीकार गरे । कम्पनीको आईपीओमा ओभर सब्सक्राइब भएको भन्दा सीआईटी खुसी भएपनि फर्जी आवेदनले समस्या उत्पन्न भएको उनको भनाइ छ ।
‘मलाई पहिला नै १०/२० प्रतिशत सेयर सर्वसाधारणले खरिद नगर्ने हुन् की भन्ने चिन्ता थियो, केही सेयर सीआईटीले खरिद गर्नु पर्छ जस्तो लागेको थियो तर, पूर्ण आवेदन परेको भन्दा खुसी लागेको थियो, पछि फर्जी आवेदन परेको कुरा बाहिर आएपछि झन् समस्या आयो,’ उनले भने ।
आर्थिक मन्दीका कारण घोराहीको वित्तीय विवरण खस्किएको उनले बताए । पछिल्लो वित्तीय विवरण अनुसार ईपीएस पनि ऋणात्मक छ । क्रेडिट रेटिङमा त्रीबल बी माइनस प्रदान गरेको छ । यो भनेको कम्पनी मध्यमस्तर रहेको मानिन्छ ।
‘कम्पनी समस्याग्रस्त भएको त होइन कमजोर भएको मात्रै हो, यस्ता कम्पनी बजारमा थुप्रै छन्, यो कम्पनी खानी खोला हाईड्रोभन्दा पनि कमजोर भइसकेको छ, कम्पनीको प्रिमियम मूल्य पनि धेरै भएको हो, कम्पनीले सबोनसँग मिलेमतो गरेर साम्य पारेको हुन सक्छ,’ उनले आशंका व्यक्त गर्दै भने , ‘कम्पनी धेरै राम्रो पनि होइन र धेरै गए गुज्रेको पनि होइन, प्रिमियम मूल्यमा सेयर निष्काशन गर्न रेटिङ सहि नै हो तर, त्यो रेटिङ दिनुको कारण मिलेमतो छ की !’
प्रिमियम मूल्यमा सेयर निष्काशन गर्न मध्यम स्तरको क्रेडिट रेटिङ आउनु पर्छ । यदि कम्पनीले अन्य ठाउँमा रेटिङ गर्दा मध्यम स्तरको नआउने र न्यून स्तरको आउने देखिएको हुँदा नै आफ्नै कम्पनीमा रेटिङ गराएको हुन सक्ने उनले शंका ब्यक्त गरे ।