काठमाडौं । आइतबार सेयर मूल्य मापक नेप्से परिसूचक ६२.२१ अंकले बढेको छ । कारोबार खुलेदेखि उकालो लागेको परिसूचक बजार बन्द हुँदा ३.०३ प्रतिशतले बढेर २११७.७३ बिन्दुमा पुगेको हो ।
बजारमा परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । दिनभरको कारोबारमा ६ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन गत बिहीबारको तुलनामा ३ अर्ब ५ करोडले बढी हो । गत बिहीबारको बजारमा ३ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आइतबार बढी कारोबार गर्नेको अग्रस्थानमा शिवम् सिमेन्ट रहेको छ । शिवम्को ४९ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, दोश्रो स्थानमा सोल्टी होटेल रहेको छ । जसको ३८ करोड ९० लाख रुपैयाँ बराबरको सेयर एकैदिन कारोबार भएको छ ।
उच्च अंकले बढेको बजारमा ९ कम्पनीको सेयर मूल्य ९.५ प्रतिशतभन्दा बढीले बढेको छ । जसमा ४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । जसमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, हिमालयन लाइफ, एनएमबी ५० र सामलिङ पावर कम्पनी रहेका छन् । त्यस्तै, बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशत, सिटी होटलको ९.९९ प्रतिशत, शिवम् सिमेन्टको ९.९८ प्रतिशत, हिमालय उर्जा विकास कम्पनीको ९.७७ प्रतिशत र नेपाल इन्स्योरेन्स कम्पनीको ९.७४ प्रतिशतले सेयर मूल्य बढेको छ । मर्जर प्रकृयामा रहेको प्रभु लाइफ इन्स्योरेन्सको पनि ९.४८ प्रतिशतले सेयर मूल्य बढेको छ ।
बजारमा कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् ।