काठमाडौं । कर्पोरेट पे मार्फत् जेठ महिनामा ५० अर्ब भन्दा बढीको कारोबार भएको छ ।
कर्पोरेट पे प्रणालीले चालु आर्थिक वर्षको जेठ महिनामा ५० अर्ब रुपैयाँभन्दा बढीको कारोबार फर्छ्यौट गरेको छ । कर्पोरेट पे सञ्चालन भएको माघ २०७७ महिना देखि यताको सबैभन्दा अधिक मासिक कारोबार रकम हो ।
गत आर्थिक वर्ष कुल १०९.५ रुपैयाँअर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको कर्पोरेट पेमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म भने ४२१ अर्ब रुपैयाँभन्दा बढिको भुक्तानी कारोबार फर्छ्यौट भइसकेको छ । बैंक/वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुले सहज रुपमा कपार्रेट पे मार्फत् डिजिटल भुक्तानी गर्न सक्ने हुँदा यसको कारोबार संख्या दुइ गुणाले बृद्धी भएको हो ।
हाल शैक्षिक संस्थाहरु, कन्स्ट्रक्शन कम्पनीहरु, ट्राभल व्यवसायीहरु, रिटेल व्यवसायीहरु लगायतका विभिन्न संस्थागत ग्राहकहरुले कपार्रेट पे प्रयोग गर्ने गरेका छन् । ४७ बैंक वित्तिय संस्थाहरु मार्फत् उक्त प्रणाालीमा बैंक/वित्तीय संस्थाका ७,७०० भन्दा बढि व्यावसायिक ग्राहकहरु आबद्ध भई कारोबार गर्दै आएका छन् ।
एउटै प्ल्याट्फर्ममा एक भन्दा बढि बैंक खाताहरु लिन्क गरी कारोबारहरु गर्न सक्ने व्यवस्था रहेको यस प्रणाली मार्फत फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी लगायत नेपाल आयल निगम, भन्सार विभाग, बीमा समिति, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानीहरु उपलब्ध रहेका छन् ।
प्रणालीमा रियल टाइममा प्रति कारोबार २० लाख रुपैयाँसम्म र नन–रियल टाइम कारोबारको हकमा २० रुपैयाँकरोड सम्म गर्न सकिन्छ । साथै, व्यावसायिक ग्राहकहरुले बैंक खाता, रकम वा कारोबारको किसिममा आधारित विभिन्न खाता सञ्चालनका आदेशहरू सेट गरी उच्च स्तरको नियन्त्रण र जोखिम व्यवस्थापन पनि गर्न सक्दछन् ।