काठमाडौं । मंगलबारको सेयर बजारमा लघुवित्त वित्तीय संस्थाको सेयरमा उछाल आएको छ । बजारमा अधिकांश लघुवित्तको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएसँगै त्यसको प्रभाव सेयर मूल्य मापक नेप्से परिसूचकमा पनि परेको हो ।
मंगलबारको नेप्से परिसूचक ५६.९४ अंकले बढेर २१८६.३६ बिन्दुमा पुगेको छ । जुन सोमबारको तुलनामा २.६७ प्रतिशतले बढी हो ।
बजारमा परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ५ अर्ब ३१ करोडको कारोबार भएको बजारमा मंगलबार ५ अर्ब ४७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार भएको छ । संस्थाको एकैदिन २५ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कारोबार मात्रै नभई बढी सेयर मूल्य बढ्ने कम्पनीको सूचीमा पनि लघुवित्त अग्रस्थानमा रहेको छ । दिनभरको कारोबारमा ३८ कम्पनीको सेयर मूल्य ९.८० प्रतिशतभन्दा बढीले बढेर सर्किट लेभेलमा कारोबार भएको छ । जसमध्ये २५ वटा कम्पनीको मात्रै सेयर मूल्य १० प्रतिशतले बढेको छ भने अन्य १३ वटा कम्पनीको सेयर मूल्य ९.८० देखि ९.९९ प्रतिशतसम्मले बढेको छ ।
समूहगत हेर्दा पनि लघुवित्त समूह ३५३.७० अंकले बढेको छ । उत्पादनमूलक, निर्जीवन बीमा र ट्रेडिङ समूह घटेका छन् भने कारोबारमा आएका बाँकी समूह ओरालो लागेका छन् ।