काठमाडौं । साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सोमबार नेप्से परिसूचक २१.३२ अंकले घटेर २०७५ अंकमा बन्द भएको छ । नेप्से परिसूचक दोहोरो अंकले घटेसँगै कारोबार रकम पनि घटेको छ ।
सोमबार २०९७ अंकबाट कारोबार सुरुवात भएको थियो । तर, बजार २११३ अंक पुगेर घटेको देखिन्छ ।
नेप्सेका अनुसार सोमबार ४ अर्ब ५ करोड १० लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज २७६ कम्पनीको ९४ लाख १८ हजार ९५२ कित्ता सेयर ६४ हजार ८६८ पटक खरिद बिक्री भएको छ । यसअघि आइतबार ५ अर्ब ८ करोड १९ लाख ७६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
सोमबार सीवाईसी लघुवित्त, बिपीडब्लु लघुवित्त र सिटी होटलको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर १० प्रतिशत मूल्य बढेको छ । यससँगै सीवाईसी लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १ हजार २८९ रुपैयाँ, बिपीडब्लु लघुवित्तको १ हजार ५५४.८० रुपैयाँ र सिटी होटलको ५०८.९० रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।
सोमबार ४१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७४ कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ । यस्तै, कारोबारमा आएका १० वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन नभएको नेप्सले बताएको छ ।
सोमबार हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार सर्वाधिक भएको छ । कम्पनीको २३ करोड ९४ लाख ४५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, सोल्टी होटलको सेयर २० करोड ९४ लाख ३९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।