धमाधम हकप्रदको लागि स्वीकृति दिँदै प्राधिकरण, एलआईसी नेपालले पनि ८६% सेयर जारी गर्न पाउने

<p>काठमाडौं । पछिल्लो समय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई एक पछि अर्को गर्दै हकप्रद सेयर जारी गर्न स्वीकृति दिइरहेको छ । तोकिएको न्यूनतम चुक्ता पुँजी पुर्याउनको लागि प्राधिकरणले बीमा कम्पनीहरुलाई हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको हो । हालै एनएलजी इन्स्योरेन्स कम्पनीलाई हकप्रदको स्वीकृति दिएको प्राधिकरणले लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) लाई पनि हकप्रद सेयर [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई एक पछि अर्को गर्दै हकप्रद सेयर जारी गर्न स्वीकृति दिइरहेको छ । तोकिएको न्यूनतम चुक्ता पुँजी पुर्याउनको लागि प्राधिकरणले बीमा कम्पनीहरुलाई हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको हो ।

हालै एनएलजी इन्स्योरेन्स कम्पनीलाई हकप्रदको स्वीकृति दिएको प्राधिकरणले लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) लाई पनि हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको छ । प्राधिकरणले कम्पनीलाई चुक्ता पुँजीको ८६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ ।

हाल एलआईसी नेपालको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ । ८६ प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुँजी करिब ५ अर्ब अर्थात ४ अर्ब ९३ करोड ५२ लाख रुपैयाँ पुग्ने छ । जुन प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा थोरै कम हो । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पुँजी न्यूनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब पुँजी तोकिदिएको छ ।

यसअघि बोनस र हकप्रदबाट पुँजी बढाउन दिँदैनौं भनेको प्राधिकरणले अहिले आफैले हकप्रदको लागि स्वीकृति दिँदै छ । प्रयास गर्दा गर्दै पनि पुँजी पुर्याउन नसकेका कम्पनीलाई मात्र हकप्रद र बोनसबाट पुँजी पुर्याउन दिइने प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल बताउँछन् ।

‘हामीले हकप्रद र बोनसबाट मात्रै पुँजी पुर्याउन नदिने भनेको थियौं, तर हालसम्म पनि पुँजी पुर्याउनको लागि कोशिस गरेका तर पुर्याउन नसकेका कम्पनीलाई उनीहरुको वित्तीय अवस्था हेरेर हकप्रद सेयर जारी गर्न दिने छौं,’ अध्यक्ष सिलवालले विकासन्युजसँग भने- ‘पुँजी नपुगेको हकमा ३०/४० प्रतिशतसम्म हकप्रद सेयर जारी गर्न दिन्छौं, त्यतिले नपुग्ने अवस्थामा भने कम्पनीको चालु आर्थिक वर्षको वित्तीय अवस्थामा हेरेर मात्रै थप थप दिने नदिने निर्णय गर्नेछौं ।’

हाल हकप्रदको लागि स्वीकृति पाएका दुई कम्पनीको हकमा भने प्राधिकरणले अधिकतम प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ ।

निर्जीवन बीमा व्यवसाय गर्दै आएको एनएलजी इन्स्योरेन्स नेशनल लाइफ इन्स्योरेन्सको सब्सिडायरी कम्पनी भएको र कम्पनीको हालको सेयर संरचना साविकको बीमा समितिको ऐन तथा निर्देशन अनुसार नै भइरहेकोले पनि प्राधिकरणले एनएलजीलाई हकप्रद सेयर मार्फत पुँजी बढाउनको लागि बाटो खुला गरिदिएको प्राधिकरणका अध्यक्ष बताउँछन् ।

त्यस्तै, एलआईसी नेपाल एलआईसी इण्डियाको जोइन्ट भेन्चर कम्पनी हो, जसले एलआईसी नेपालको पुँजी बढाउन रकम थप्ने भएकाले प्राधिकरणले हकप्रदको स्वीकृति दिएको हो ।

‘एलआईसी इण्डियाले हकप्रदको लागि पैसा थप्ने भनेर आवेदन दिएको र सो आवेदन अनुसार एलआईसी नेपाललाई हकप्रद मार्फत पुँजी वृद्धि गर्न बाटो खुला गरेका हौं,’ अध्यक्ष सिलवालले प्रष्ट पारे ।

Share News