काठमाडौं । माण्डु हाईड्रोपावरले असार २८ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशीक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन गर्ने भएको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशत अर्थात् १६ लाख ३६ हजार ३७७ कित्ता सेयर अंकित मूल्य १ सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा बिक्री गर्नेछ ।
कम्पनीले जारी पूँजीको मध्ये २ प्रतिशत अर्थात् २ लाख ७२ हजार ७३० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र ललितपुरको बागमति गाउँपालिका १ र २, मकवानपुरको भिमफेदी गाउँपालिका ५, ६, ७ र ८ र इन्द्रासरोवर गाउँपालिकाको ३ स्थानीय बासिन्दाहरुलाई बिक्री गर्नेछ ।
साथै, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ३६ हजार ३६४ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई विदेशमा रोजगार गरीरहेका नेपालीहरुलाई बिक्री गर्नेछ ।
कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा साउन ११ गतेसम्म आवेदन दिन सकिनेछ । यदि आयोजना प्रभावित क्षेत्रका स्थानीयले सो समयमा पूर्ण आवेदन नदिएमा साउन २६ गतेसम्म लम्बिनेछ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, प्राइम बैंकको भीमफेदी, हेटौडा शाखा, कुमारी बैंकको बागमती शाखा, प्रभु बैंकको हेटौडा शाखा र आवश्यकता अनुसार अन्य संकलन केन्द्र पनि थप गर्न सकिने कम्पनीले जनाएको छ ।
साथै, सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेका मेरो सेयर मार्फत् आवेदन दिन सकिनेछ ।
इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको सक्षम रहेको कम्पनीको रुपमा जनाउँदछ ।