७ वटा बीमा कम्पनीले मात्रै पुर्‍याए तोकिएको चुक्ता पुँजी, कसको कति अपुग ?

<p>काठमाडौं । सञ्चालनमा आएका बीमा कम्पनीहरुमध्ये ७ वटा बीमा कम्पनीले मात्रै तोकिएको चुक्ता पुँजी पुर्&#x200d;याएका छन् । नेपाल बीमा प्राधिकरणले आर्थिक वर्ष २०७९/८० काे असार मसान्तसम्ममा जीवन बीमा कम्पनीलाई पाँच अर्ब र निर्जीवन बीमा कम्पनीलाई साढे दुई अर्ब न्यूनतम चुक्ता पुँजी पुर्&#x200d;याउन निर्देशन दिएको थियो । दिइइकाे समयमा जीवन बीमातर्फका तीन कम्पनी र निर्जीवन बीमा तर्फका चार [&hellip;]</p>

काठमाडौं । सञ्चालनमा आएका बीमा कम्पनीहरुमध्ये ७ वटा बीमा कम्पनीले मात्रै तोकिएको चुक्ता पुँजी पुर्‍याएका छन् । नेपाल बीमा प्राधिकरणले आर्थिक वर्ष २०७९/८० काे असार मसान्तसम्ममा जीवन बीमा कम्पनीलाई पाँच अर्ब र निर्जीवन बीमा कम्पनीलाई साढे दुई अर्ब न्यूनतम चुक्ता पुँजी पुर्‍याउन निर्देशन दिएको थियो ।

दिइइकाे समयमा जीवन बीमातर्फका तीन कम्पनी र निर्जीवन बीमा तर्फका चार कम्पनी गरी सात वटा कम्पनीले मात्रै तोकिएको न्यूनतम पुँजी पुर्‍याएका हुन् ।

सो अनुसार जीवन बीमातर्फबाट नेपाल लाइफ, नेशनल लाइफ र हिमालयन लाइफले पुर्‍याएका छन् । हाल नेपाल लाइफको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ छ । त्यस्तै, नेशनल लाइफको ५ अर्ब एक करोड र मर्जपछि बनेको हिमालयन लाइफको ८ अर्ब २ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी छ ।

साविकको प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ मर्ज भई बनेको हिमालयन लाइफ इन्स्योरेन्स चुक्ता पुँजीमा जीवन बीमा कम्पनीमध्येकै दोश्रो बन्न सफल भएको छ ।

त्यस्तै, निर्जीवन बीमा तर्फबाट शिखर इन्स्योरेन्स, सिद्धार्थ प्रुडेन्सियल, सगरमाथा लुम्बिनी र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले तोकिएको समयभित्रै चुक्ता पुँजी पुर्‍याउन सफल भएका छन् । यीमध्ये हालै मर्जरमा गई बनेको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सर्वाधिक अर्थात २ अर्ब ६५ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी छ । त्यस्तै, सिद्धार्थ प्रिमियरको २ अर्ब ८० करोड, शिखरको २ अर्ब ६५ करोड र सगरमाथा लुम्बिनीको २ अर्ब ६२ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी छ ।

न्यूनतम पुँजी नपुर्याउनेमा अन्य १० वटा जीवन र ८ वटा निर्जीवन गरी १८ वटा बीमा कम्पनी रहेका छन् । यीमध्ये केहीले पुँजी पुर्याउनको लागि मर्जरको बाटो रोजिसकेका छन् भने केहीले कुनै पनि विकल्प शुरु गरेका छैनन् । मर्जरको विकल्प रोजेर पनि पुँजी नपुर्‍याउनेमा जीवन बीमा तर्फका ३ र निर्जीवन बीमा तर्फका तीन गरी ६ वटा कम्पनी रहेका छन् ।

जसमा जीवन बीमातर्फका सूर्यज्याति लाइफ (साविकको सूर्या लाइफ र ज्योति लाइफ), सानिमा रिलायन्स लाइफ (साविकको सानिमा लाइफ र रिलायन्स लाइफ) र प्रभु महालक्ष्मी लाइफ (साविकका प्रभु लाइफ र ज्योति लाइफ) रहेका छन् । यता निर्जीवन बीमा तर्फका हिमालयन एभरेष्ट (साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स), सानिमा जिआईसी (साविकको सानिमा जनरल र जनरल इन्स्योरेन्स) र युनाइटेड अजोड इन्स्योरेन्स (साविकको युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स) रहेका छन् ।

पुँजी नपुर्याउनेलाई कारवाही !

चुक्ता पुँजी वृद्धिको लागि प्रयास गर्दा गर्दै पनि पुँजी पुर्याउन नसकेका कम्पनीलाई हकप्रद र बोनसबाट पुँजी पुर्‍याउन दिइने प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल बताउँछन् ।

‘हामीले पहिला हकप्रद र बोनसबाट मात्रै पुँजी पुर्‍याउन नदिने भनेको थियौं, तर हालसम्म पनि पुँजी पुर्‍याउनको लागि कोशिस गरेका तर पुर्‍याउन नसकेका कम्पनीलाई उनीहरुको वित्तीय अवस्था हेरेर हकप्रद सेयर जारी गर्न दिने छौं,’ अध्यक्ष सिलवालले विकासन्युजसँग भने- ‘पुँजी नपुगेको हकमा ३०/४० प्रतिशतसम्म हकप्रद सेयर जारी गर्न दिन्छौं, त्यतिले नपुग्ने अवस्थामा भने कम्पनीको चालु आर्थिक वर्षको वित्तीय अवस्थामा हेरेर मात्रै थप थप दिने नदिने निर्णय गर्नेछौं ।’

तर पुँजी वृद्धिको लागि कुनै पनि प्रयास नै नगर्नेलाई भने कारवाही गर्ने मोडमा प्राधिकरण छ । ‘कुनै पनि कोशिश गरेका छैनन् भने ती कम्पनीलाई बीमा ऐनअनुसार कारवाही गर्ने छलफल भइरहेको छ,’ प्राधिकरण स्राेतले विकासन्युजसँग भन्यो ।

Share News