बीमा क्षेत्रले ११ हजारलाई दियो रोजगारी, कुन कम्पनीमा कति छन् कर्मचारी ?

<p>काठमाडौं । पछिल्ला दिनमा बीमाको दायरा बढेसँगै कम्पनी शाखा र कर्मचारीको संख्या पनि बढिरहेको छ । केही वर्षअघि बीमा क्षेत्रमा नयाँ कम्पनी आएपछि बीमा बजार उत्तिकै तरङ्गीत पनि भएको छ । अर्थतन्त्रलाई चलायमान बनाउन र नागरिकको जोखिम बहनको क्षमता बढाउन योगदान गरिरहेको नेपालको बीमा क्षेत्रले रोजगारीमार्फत हजारौंलाई आर्थिकरुपमा सक्षम बन्ने आधार समेत दिइरहेको छ । बीमाको क्षेत्रमा [&hellip;]</p>

काठमाडौं । पछिल्ला दिनमा बीमाको दायरा बढेसँगै कम्पनी शाखा र कर्मचारीको संख्या पनि बढिरहेको छ । केही वर्षअघि बीमा क्षेत्रमा नयाँ कम्पनी आएपछि बीमा बजार उत्तिकै तरङ्गीत पनि भएको छ ।

अर्थतन्त्रलाई चलायमान बनाउन र नागरिकको जोखिम बहनको क्षमता बढाउन योगदान गरिरहेको नेपालको बीमा क्षेत्रले रोजगारीमार्फत हजारौंलाई आर्थिकरुपमा सक्षम बन्ने आधार समेत दिइरहेको छ ।

बीमाको क्षेत्रमा क्रमशः बढिरहेको दायरासँगै रोजगारी पाउनेको संख्यामा पनि बढोत्तरी आइरहेको छ ।

पछिल्लो तथ्यांकअनुसार, नेपालको बीमा क्षेत्रले ११ हजार बढीलाई रोजगार दिएको छ । नेपाल बीमा प्राधिकरणले दिएको जेठ मसान्तसम्मको तथ्यांकअनुसार जीवन र निर्जीवन बीमा क्षेत्रमा कूल ११ हजार १९९ जनाले रोजगार पाएका हुन् ।

जसमध्ये जीवन बीमा क्षेत्रमा ५ हजार ६६६ जना कर्मचारी आवद्ध रहेका छन् । जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेका १५ वटा कम्पनीमा ती कर्मचारी आवद्ध छन् ।

जसमध्ये सबैभन्दा बढी कर्मचारी हिमालयन लाइफ इन्स्योरेन्समा रहेका छन् । साविकको प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ मर्ज भई बनेको हिमालयन लाइफमा कूल ८०० जना कर्मचारी छन् । उक्त कर्मचारीले कम्पनीको कूल २१८ वटा शाखामार्फत ग्राहकलाई बीमा सेवा दिइरहेका छन् ।

हिमालयन लाइफ पछि बढी कर्मचारीको दोश्रो सूचीमा सूर्यज्योति लाइफ इन्स्योरेन्स छ । १८२ वटा शाखाबाट सेवा प्रवाह गरिरहेको इन्स्योरेन्समा कूल ६२२ जना आवद्ध छन् ।

त्यस्तै, जीवन बीमा क्षेत्रको विभिन्न सूचकमा अग्रणी कम्पनी नेपाल लाइफ इन्स्योरेन्समा भने ६१२ जना कर्मचारी आवद्ध छन् । कर्मचारी संख्याको आधारमा भने नेपाल लाइफ सबैभन्दा बढी कर्मचारी हुने कम्पनीको तेश्रो सूचीमा देखिन्छ । समीक्षा अवधिमा कम्पनीले १८४ वटा शाखाबाट बीमितहरुलाई बीमा सेवा दिइरहेको छ ।

सबैभन्दा कम कर्मचारी राष्ट्रिय बीमा संस्थानमा रहेका छन् । २४ वटा शाखाबाट सेवा दिइरहेको कम्पनीले हाल १०२ जना कर्मचारीलाई रोजगार दिएको छ ।

यता निर्जीवन बीमा क्षेत्रमा ५ हजार ५३३ जनाले रोजगार पाएका छन् । जुन जीवन बीमा क्षेत्रको तुलनामा कम हो । सञ्चालनमा रहेका १४ कम्पनीले देशभर सो संख्यामा रोजगारी दिएका हुन् । जसमध्ये सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सबैभन्दा बढी अर्थात ६७७ जनालाई रोजगारी दिएको छ । शाखा संख्यासँगै कम्पनीको कर्मचारी संख्या पनि अन्य कम्पनीको तुलनामा बढी देखिएको हो । हाल कम्पनीको कार्यालय शाखा संख्या १२७ रहेको छ ।

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ६५२, शिखर इन्स्योरेन्समा ६३०, युनाइटेड अजोड इन्स्योरेन्समा ५६४ र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा ५०७ जना कर्मचारी आबद्ध रहेका छन् ।

निर्जीवन बीमा कम्पनीमध्ये नेशनल इन्स्योरेन्समा सबैभन्दा कम कर्मचारी रहेका छन् । १३ वटा शाखा रहेको कम्पनीमा ६६ जना कर्मचारी आवद्ध रहेको प्राधिकरणले जनाएको छ ।

Share News