काठमाडौं । प्रभु इन्स्योरेन्सले चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव साउन ४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गरेको हो ।
इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार चुक्ता पुँजी बढाउन हकप्रद जारी गर्ने प्रस्ताव गरेको हो । जुन बीमा प्राधिकरणले स्वीकृति दिएपछि मात्रै कम्पनीले सो मात्राको सेयर जारी गर्न पाउने छ ।
बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ बराबरको चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो । जसको समय सीमा पनि गत असार मसान्तसम्म तोकिदिएको थियो । तर यो अवधिमा प्रभु इन्स्योरेन्सले चुक्ता पुँजी पुर्याउन सकेको छैन ।
कम्पनीले अनेकौं प्रयास गर्दा पनि तोकिएको सीमाभित्रमा पुँजी बढाउन नसकेको जनाउँदै अन्तत हकप्रदको विकल्प रोजेको बताएको छ । यसअघि कम्पनीले अजोड इन्स्योरेन्ससँग मर्ज हुने प्रकृया अघि बढाएको थियो जुन अन्तिम चरणमा पुगेपछि भंग भयो । त्यसपछि कम्पनीले मर्जरमा जानको लागि नै अन्य कम्पनीहरुसँग विशेष पहल गरिरहेको र हालसम्म कुनै कम्पनीसँग पनि प्रकृया अघि नबढेको इन्स्योरेन्सले जानकारी गराएको छ ।
मर्जरसँगै कम्पनीले विदेशी कम्पनीहरुसँग समन्वय गरी वैदेशिक रणनीतिक साझेदार ल्याउने प्रयास गरिरहेको छ । तर यो प्रयासमा पनि अन्तिम निर्णय नभईसकेकोले कम्पनीले हकप्रदमार्फत सेयर जारी गर्ने निर्णय गरेको हो । जसको स्वीकृतिको लागि कम्पनीले बीमा प्राधिकरणमा निवेदन पेश गरिसकेको छ ।
इन्स्योरेन्सले प्राधिकरणसँग हाल कायम चुक्ता पुँजीको ६५ प्रतिशत अर्थात ९९ करोड २७ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न स्वीकृति मागेको हो । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ३७ करोड ६१ लाख रुपैयाँ छ । प्रस्तावित ६५ प्रतिशत हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ३६ करोड ८८ लाख पुग्ने छ । जुन प्राधिकरणले तोकेको पुँजी भन्दा १३ करोड १२ लाख रुपैयाँ कम हो । उक्त अपुग पुँजी भने बोनस सेयर मार्फत पुर्याउने इन्स्योरेन्सको योजना छ ।
पाउँला त प्राधिकरणको स्वीकृति ?
बीमा प्राधिकरणले भने कम्पनीहरुलाई बोनस र हकप्रदबाट मात्रै पुँजी वृद्धि गर्न नदिने निर्णय गरेको थियो । तर पछिल्लो समय भने प्राधिकरण यसमा लचिलो बनेको देखिन्छ । प्राधिकरणले अनौपचारिक रुपमा पुँजी पुर्याउन प्रयास गर्दा गर्दै पनि पुर्याउन नसक्ने कम्पनीलाई भने बोनस र हकप्रद सेयर निष्काशन गर्न दिने बताउँदै आएको छ । यस हिसावमा भने पुँजी वृद्धिको लागि अनेकौं प्रयास गरेको प्रभु इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्न पाउने चान्स बढी देखिन्छ । तर प्राधिकरणले हकप्रद जारी गर्न दिँदा पनि ३० देखि ४० प्रतिशतसम्म मात्रै जारी गर्न दिने त्योभन्दा बढी नदिने बताउँदै आएको छ । यदि प्राधिकरणले यसलाई नै औपचारिक रुपमा लागू गर्यो भने प्रभुले प्रस्ताव गरेबमोजिमको हकप्रद सेयर जारी गर्न नपाउने देखिन्छ ।
यद्पि, तोकिएको समयमा पुजी नपुर्याउने कम्पनीलाई के गर्ने भन्ने विषयमा प्राधिकरण आफै अन्योलमा रहेकोले प्रभु इन्स्योरेन्सले हकप्रदको लागि स्वीकृति पाउँछ की पाउँदैन भन्ने विषय पनि अन्योलमा देखिन्छ ।