काठमाण्डौ । सेतीखोला हाइड्रोपावरले प्रतिसेयर १०० रूपैयाँ अंकित दरको ६० लाख कित्ता साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । हाइड्रोले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासीन्दाहरु तथा सर्वसाधारणहरुमा सो मात्राको सेयर निष्काशन गर्न लागेको हो ।
सो प्रयोजनको लागि हाइड्रोले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ ।
उक्त सम्झौता-पत्रमा सेतीखोला हाइड्रोपावरका तर्फबाट सञ्चालक समितिका अध्यक्ष अनुप आचार्य तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका हुन् ।
सेतीखोला हाइड्रोको अधिकृत पुँजी एक अर्ब पचास करोड रूपैयाँ, जारी पुँजी एक अर्ब पचास करोड रूपैयाँ र चुक्ता पुँजी ८८ करोड ४६ लाख ४५ हजार रूपैयाँ रहेको छ ।
सेतीखोला हाइड्रोपावरले विद्युत उत्पादन गर्ने संस्थाको रुपमा वि.सं. २०८० असार २९ गते प्राईभेट लिमिटेडबाट पब्लिक लिमिटेडमा परिणत भएको संस्था हो । उक्त संस्थामा मुख्य लगानीकर्ता डोल्मा इम्प्याक्ट फण्ड २ रहेको छ । जसले संस्थाको ४९ प्रतिशत लगानी रहेको छ भने बाँकी ५१ प्रतिशत सेयर संस्थाका अध्यक्ष अनुप आचार्य, दिपक बराल लगायतका पोखराका स्थानिय बासिन्दाहरुको रहेको छ ।
यस कम्पनी अध्यक्ष अनुप आचार्य छन् भने सञ्चालकको रुपमा दिपक बराल, हरिबाबु न्यौपाने, सम्झाना आचार्य, विद्यावारिधी सिग्देल र राम बहादुर पहाडी रहेका छन् । उक्त संस्थाको २२ मेगावाट क्षमता भएको वार्षिक उत्पादन क्षमता १३७.१८ जीडब्लुएच रहेको छ र वि.सं. २०८१ साउन १३ गतेबाट व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ । यो आयोजना नेपालको कास्की जिल्ला पोखरा महानगरपालिका बडा नं.३३ मा अवस्थित छ । यस हाइड्रोपावरको कुल लागत ५०५ करोड रहेको छ र हाल उक्त आयोजनाको ५५ प्रतिशत कार्य सम्पन्न भएको छ ।