
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरमका सभापति शैलेन्द्र गुरागाईंले मौद्रिक नीति सकारात्मक आएको बताएका छन् । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले सबै क्षेत्रलाई समेट्न खोजेको उनले बताए । उनले सामान्य खालको मौद्रिक नीति आएको बताए ।
अहिले नै प्रतिक्रिया दिने गरी कुनै पनि व्यवस्था नआएको उनको भनाइ छ ।
‘मौद्रिक नीति जेनेरिक आयो । स्पेसिफिक कुराहरु केही पनि आएका छैनन् । स्पेसिफिक कुराहरु पछि ल्याउने गरी मौद्रिक नीति आएको छ,’ सभापति गुरागाईंले भने, ‘अहिले नै कमेन्ट गर्ने गरी केही पनि आएको छैन् । अहिले मौद्रिक नीतिमा धारा, कुलो, पानी, नदि केही पनि छैन ।’
मौद्रिक नीतिले पूँजी बजार सम्बन्धी अहिले कुनै पनि ब्याख्या गर्नेगरी व्यवस्था गरेको छैन । जोखिम भार घटाउनु पर्ने र सेयर कर्जाको सीमा हटाउन माग गरेको भएपनि मौद्रिक नीतिमा कुनै व्यवस्था अहिल्यै नआएको उनले बताए ।
‘अहिले मौद्रिक नीतिमा खुलस्तरूपमा कुनै पनि व्यवस्था आएको छैन, सर्कुलर आएपछि नै थाहा हुन्छ,’ उनले भने, ‘समग्रमा हेर्ने हो भने मिलाएर वा समायोजन गर्न खोजेको देखिन्छ । कडा किसिमका डण्डा लाग्ने गरी आएको छैन । सबैलाई पछि समेट्ने गरी नीति जारी भएको देखिन्छ ।’
मौद्रिक लगानीकर्ताले खोजेजस्तै मौद्रिक नीति आएको लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् । सेयर कर्जा र घरजग्गा कर्जालाई पुनरावलोकन गर्ने भनेको छ । जोखिम भार १५० बाट संशोधन गर्ने भनेको छ । २०८१ असारसम्म मर्जरमा जाने लघुवित्तले एकीकृत कारोबार गर्याे भने सेवा सुविधा दिने भनेको छ । यी सबै कुराहरुलाई लगानीकर्ताहरुले सकारात्मकरुपमा लिएका छन्’, रौनियारले भने ।
पूँजी बजारका लागि पनि मौद्रिक नीतिमा सकरात्मक कुरा नै भएको उनले बताए । ‘लघुवित्त संस्थाहरुको मर्जरमा प्रोत्सान, सेयर कर्जा बढाउने, घर कर्जा बढाउँदा नीतिले अर्थतन्त्र चलायमान हुन्छ । ब्याजदर पनि कम गर्ने देखिन्छ । समग्रमा मौद्रिक नीति राम्रो छ’, उनले भने ।
पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेलले राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति उत्साहजनक रहेको बताएकी छिन् ।
‘नेपाल राष्ट्र बैंकले आज जारी गरेको मौद्रिक नीति साबिकका बर्षहरुकोभन्दा केही उत्साहजनक पाइयो । बिशेषगरी सेयर धितो कर्जाको जोखिमभारलाई पुनरवालोकन गरिने भन्ने व्यवस्थाले सेयर बजारमा उत्साह ल्याउने नै देखिन्छ’, पोखरेलले भनिन् ।
बिगत दुई बर्ष देखि निरन्तर घटिरहेको सेयर बजारलाई मौद्रिक नीतिले थोरै भएपनि मल्हमपट्टी लगाउने पोखरेलको आशा छ ।