काठमाडौं । पछिल्लो समय जीवन बीमा क्षेत्रमा मन्दी देखिएको छ । बजारमा तरलता अभाव हुनु र निरन्तर रुपमा महँगी बढेसँगै त्यसको असर आम मानिसको प्राथमिकतामा नपर्ने जीवन बीमा क्षेत्रमा परेको हो ।
आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष (२०७९/८०) को असार मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आम्दानी २४.७२ प्रतिशतले घटेको छ । कम्पनीहरुले गत आर्थिक वर्ष (आव) मा ३१ अर्ब २० करोड रुपैयाँ प्रथम बीमाशुल्कबापत संकलन गरेका छन् । जबकी अघिल्लो आवमा कम्पनीहरुबाट ४१ अर्ब ४४ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन भएको थियो ।
गत आवमा संकलित प्रथम बीमाशुल्कमध्ये नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी छ । इन्स्योरेन्सले एक वर्षको अवधिमा ६ अर्ब ५७ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १०.८७ प्रतिशतले घटी हो ।
त्यस्तै, समीक्षा अवधिमा सबैभन्दा बढी प्रथम बीमाशुल्क संकलन गर्नेको दोश्रोमा नेशनल लाइफ, तेश्रोमा सूर्यज्योति, चौथोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन र पाँचौंमा हिमालयन लाइफ इन्स्योरेन्स रहेका छन् । यीमध्ये सूर्यज्योति र हिमालयन लाइफ मर्जरमा गएका कम्पनी हुन् ।
१५ वटा जीवन बीमा कम्पनीमध्ये साविकको प्रभु लाइफको प्रथम बीमा शुल्क सबैभन्दा बढी प्रतिशितले घटेको छ । साविकको महालक्ष्मी लाइफसँग मर्ज भएको साविकको प्रभु लाइफको प्रथम बीमाशुल्क गत वर्षमा ५६.०४ प्रतिशतले घटेर ६३ करोड ५८ लाख रुपैयाँमा झरेको हो । त्यस्तै, साविकको महालक्ष्मी लाइफको पनि ४०.७५ प्रतिशतले प्रथम बीमाशुल्क आर्जन घटेको छ ।
त्यस्तै, साविकको प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ मर्ज भई बनेको हिमालयन लाइफको प्रथम बीमाशुल्क ४८.३७ प्रतिशतले घटेको छ । जुन प्रतिशतका आधारमा साविकको प्रभु लाइफ पछिको धेरै हो ।
राष्ट्रिय बीमा संस्थानको भने सबैभन्दा कम प्रतिशतले प्रथम बीमाशुल्क घटेको छ । समीक्षा अवधिमा संस्थानको बीमाशुल्क १.१३ प्रतिशतले घटेर ९५ करोड ३० लाख रुपैयाँमा झरेको छ । अघिल्लो आवमा संस्थानले ९६ करोड ३९ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेको थियो ।
सीईओहरु भन्छन् : नयाँ आवमा गति लिन्छ
जीवन बीमा क्षेत्रमा गत आर्थिक वर्ष शुरु भएदेखि नै मन्दी देखिन थालेको हो । कोभिड १९ को महामारीमा पनि प्रभावित नभएको यो क्षेत्र पछिल्लो समय चरम मन्दीमा छ । अर्थतन्त्र सुस्ताउँदै गएसँगै जीवन बीमा व्यवसाय पनि घट्दै गएको जानकारहरु बताउँछन् ।
बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु भने अबको त्रैमासमा जीवन बीमा व्यवसायले गति लिनेमा आशावादी छन् । पछिल्लो समय बैंकिङ क्षेत्रमा तरलता बढ्न थालेसँगै बीमा व्यवसाय पनि बढ्ने उनीहरुको भनाई छ ।
जीवन बीमक संघका अध्यक्ष समेत रहेका पोषकराज पौडेल नयाँ वर्षमा नयाँ बिजनेसले गति लिने बताउँछन् ।
‘गत वर्ष नयाँ बिजनेस स्लो भएपनि समग्रमा जीवन बीमा व्यवसाय राम्रै भएको छ, अब नयाँ आर्थिक वर्षमा नयाँ बिजनेस पनि राम्रो हुने छ भन्नेमा हामी आशावादी छौं,’ सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत समेत रहेका पौडेलले विकासन्युजसँग भने ।

त्यस्तै, तीन कम्पनी मर्ज भई बनेको हिमालयन लाइफ इन्स्योरेन्सका मनोज कुमार लाल कर्णले बजारमा तरलता अभाव भएकोले बीमा क्षेत्रमा मन्दी देखिएको बताउँछन् ।
‘बजारमा तरलता अभाव भएकोले अन्य क्षेत्रसँगै यो क्षेत्रमा पनि मन्दी छाएको हो,’ विकासन्युजसँग बोल्दै उनले भने- ‘यो केही समयलाई हो, अब विस्तारै बढ्छ, चालु आवको पहिलो त्रैमासमै जीवन बीमा व्यवसायले गति लिन्छ ।’