काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचीकृत संस्थाहरुलाई समयमा वित्तीय विवरण पेश नगरे कारवाही गर्ने चेतावनी दिएको छ । बोर्डले बिहीबार सूचीकृत संगठित संस्थाहरुलाई ४ बुँदे निर्देशन जारी गर्दै ३० दिनभित्र वित्तीय विवण पेश गर्न निर्देशन दिएको हो ।
‘दर्ता गराएका संगठित संस्थाहरुले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १४ मा उल्लेखित विवरणहरु सो त्रैमासिक अवधि समाप्त भएको तीस दिनभित्र बोर्ड समक्ष पेश गर्ने र त्यस्तो प्रतिवेदन राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेछ,’ बोर्डले जारी गरेको निर्देशनमा उल्लेख छ ।
साथै, सबै संगठित संस्थाहरुले आर्थिक वर्ष समाप्त भएको ५ महिनाभित्र वित्तीय विवरण पेश गर्न भनेको हो । संगठित संस्थाहरुले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १५ बमोजिमको वार्षिक प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ५ महिना भित्र बोर्डमा पेश गर्न बार्डले निर्देशन दिएको हो । साथै, संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ बमोजिम अनुपालना प्रतिवेदनको मुख्य मुख्य बुँदाहरु सहितको प्रमाणित सारांश वार्षिक प्रतिवेदनमा समावेश गर्नुपर्नेछ ।
संस्थाहरुले सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने सूचना धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०१३ को अनुसूची १६ मा उल्लेखित कुनै घटना वा कारोबार भएमा त्यस्तो विषयको सूचना धितोपत्र बजारमा दिई ३ दिनभित्र बोर्डमा पेश गर्नु पर्ने बोर्डले जनाएको छ ।
यस्तै, धितोपत्र सम्बन्धी कानूनमा उल्लेख भएका यस्ता अन्य सूचना, जानकारी तथा विवरणहरु उल्लेखित समयमा नै पेश गर्न बोर्ड निर्देशक अम्बिका ओझा गुप्ताले बताइन् ।
उनका अनुसार बोर्डमा धितोपत्र दर्ता गराएका संगठित संस्थाहरुको सूचना, जानकारी तथा विवरण प्रवाहलाई व्यवस्थित गर्न धितोपत्र सम्बन्धी कानूनमा बिभिन्न व्यवस्थाहरु गरिएको भएपनि पूर्ण पालना नभएको हुँदा निर्देशन जारी गरिएको उनको भनाइ छ । यदि सूचना, जानकारी तथा विवरण समयमा नै पेश नगरेमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ बमोजिम कारबाही तथा जरिवाना गरिने व्यहोरा उनले बताइन् ।