
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न प्रकृतिका कर्जाहरूमा लागू हुने जोखिम भारलाई स्पष्ट पारेको छ । सेयर धितो कर्जा, रियल इस्टेट कर्जा तथा हायर पर्चेज कर्जाको जोखिम भारसम्बन्धी व्यवस्थालाई राष्ट्र बैंकले स्पष्ट पारेको हो ।
शुक्रबार एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको सेयर कर्जामा १ सय प्रतिशत जोखिम भार लागू गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । यसअघि २५ लाख रुपैयाँसम्मको कर्जामा १ सय प्रतिशत जोखिम भार लागू थियो ।
साथै, २५ लाख रुपैयाँसम्मको गाडी कर्जामा १ सय प्रतिशत जोखिम भार लागू गर्न राष्ट्र बैंकले निर्देश गरेको हो । त्यस्तै, नेपाल सरकारको स्वीकृति लिएर कार्य गरिरहेका आवासीय कम्पनीले २५ लाखसम्म कर्जा लिए भने १ सय प्रतिशत जोखिम भार कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा सेयर धितो कर्जा, रियल इस्टेट कर्जा तथा हायर पर्चेज कर्जाको जोखिम भारसम्बन्धी व्यवस्थालाई पुनरावलोकन गर्ने भनेको थियो ।