काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले गिरावट आएको छ । नेप्सेका अनुसार आइतबार नेप्से सूचक २६.१४ अंकले घटेर २२ सय अंकमा बन्द भएको हो ।
कारोबारको सुरुवाती समयमा केही अंक बजार बढेको भएपनि अन्तिम समयमा भने पूँजी बजार घटेको नेप्सेले जनाएको छ । आइतबार १८९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने १८ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ ।
आज २६६ कम्पनीको ६८ लाख ६० हजार ४२ कित्ता सेयर ४६ हजार ३२७ पटक खरिद बिक्री हुँदा २ अर्ब ५० करोड २८ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार अवधिमा शिवम् सिमेन्टको सेयर सर्वाधिक १४ करोड ७८ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस्तै, सोल्टी होटलको ११ करोड ९९ लाख रुपैयाँ, एभरेष्ट बैंकको १० करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
नेप्सेमा रहेका १३ वटा समूहमध्ये म्युचुअल फण्ड बाहेक अन्य सबै समूहमा राताम्य छाएको छ । जसमध्ये होटल तथा पर्यटन समूह, फाइनान्स समूह र ट्रेडिङ्ग समूहको सेयर मूल्य २ प्रतिशतले घटेको छ ।