काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बोनस सेयरमा लाग्ने करलाई नगद लाभांशबाट मिलान गर्ने व्यवस्था गर्ने भएको छ । बोर्डले आइतबार चालू आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएको हो ।
‘बोनस सेयरमा लाग्ने करलाई नगद लाभांशबाट मिलान गर्ने व्यवस्था गर्न आवश्यक निर्देशन जारी गरिनेछ,’ बोर्डको नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै, धितोपत्र बजार, बस्तु बजार तथा व्यवसायीहरूलाई प्रभावकारी सुपरिवेक्षण गर्नका लागि सुपरिवेक्षण म्यानुअल तयार गरी लागू गरिने बोर्डले बताएको छ । त्यस्तै, निक्षेप खाता खोल्ने प्रक्रियामा भिडियो बेस्ड कस्टमर आइडेन्टिफिकेसन लागू गर्न सहजीकरण गर्ने छ ।
बोर्डका अनुसार जग्गा खरिद तथा प्राप्त गर्ने र भवन निर्माण कार्य अगाडि बढाइनेछ । साथै, आफ्नो कामलाई उपत्यकाबाहिर पनि विस्तार गर्ने उद्देश्यले पहिलो चरणमा २ वटा प्रदेशमा प्रादेशिक नियमन संरचना स्थापना गर्न आवश्यक अध्ययन गर्ने बोर्डले बताएको छ ।