काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पूँजी बजारमा लिने विभिन्न शुल्क घटाउने बताएको छ । बोर्डले आइतबार चालू आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पूँजी बजारमा मध्यस्थता लागत कम र धितो बजारमा लिने शुल्क सम्बन्धमा अध्ययन गर्ने बताएको हो ।
सुपरभिजोरी इन्फर्मसेन सिस्टम (एसआईएस) स्थापनाको लागि अध्ययन गरिने बोडले बताएको छ । साथै, धितोपत्र बजारमा मध्यस्थता लागत कम गरी पुँजीमा पहुँच तथा कारोवारमा वृद्धि गर्न धितोपत्र बजार तथा व्यवसायीहरूले लिने शुल्क सम्बन्धमा अध्ययन गरिने बोर्डको भनाइ छ ।
यस्तै, धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा प्रयोग हुने सूचना प्रविधिका साधन तथा प्रणालीमा विद्युतीय (साइबर) अपराध न्यूनीकरण तथा प्रणालीहरूको गुणस्तर वृद्धि गर्न अन्तर्राष्ट्रिय रूपमा स्वीकृत मानकहरू अध्ययन गरी आवश्यक प्रणाली संपरीक्षण ढाँचा तयार गरिने छ ।
बोर्डका अनुसार धितोपत्र बजारको विकास र विस्तार गर्न, बजार संरचनाको स्वरूपमा परिवर्तन गर्न एवं नयाँ धितोपत्र औजारहरूको संचालनका लागि सहजीकरण गर्न आवश्यक नीतिगत, प्रक्रियागत तथा संस्थागत व्यवस्था गर्न शर्ट सेलिङ्ग, इन्द्रा डे कारोवार, अक्सन मार्केट र सेक्युरिटीज लेण्डिङ्ग एण्ड बोरोइङको व्यवस्था गर्न र नयाँ औजारहरू इक्विटी डेरिभेटिभ्स् लगायत धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी अन्य समसामायिक विषयका सम्बन्धमा विज्ञहरू मार्फत अध्ययन तथा अनुसन्धान गरिनेछ ।
यस्तै, जलविद्युत क्षेत्रका कम्पनीहरूका संस्थापक सेयरधनीको लकिङ्ग पिरियड र संस्थापक सेयरधनीमा भएको परिवर्तनका सम्बन्धमा आवधिक रूपमा जानकारी प्रवाह गराउने व्यवस्था गरिनेछ ।