कुमारी, कृषि विकास र नेपाल बैंकबाट सेयर कर्जा लिँदा सस्तो, कुन बैंकको ब्याज कति ?

<p>काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन बढ्दै गएको र कर्जाको ब्याजदर घट्दै गएपछि बैंकहरुले कर्जा लगानी बढाउन थालेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर घटेपछि ऋणीहरु पनि थप ऋण लिन उत्साहित हुन थालेका हुन् । विशेष गरेर सेयर बजार घटेकोले पनि ऋणीहरुले बैंकबाट ऋण लिएर सेयर खरिद गर्न खोजिरहेका [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन बढ्दै गएको र कर्जाको ब्याजदर घट्दै गएपछि बैंकहरुले कर्जा लगानी बढाउन थालेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर घटेपछि ऋणीहरु पनि थप ऋण लिन उत्साहित हुन थालेका हुन् ।

विशेष गरेर सेयर बजार घटेकोले पनि ऋणीहरुले बैंकबाट ऋण लिएर सेयर खरिद गर्न खोजिरहेका छन् । बैंकहरुले पनि लगानीकर्ताहरुलाई फोन गरेर सेयर कर्जा लिन आग्रह गरिरहेको लगानीकर्ताहरु बताउँछन् । राष्ट्र बैंकले पनि ५० लाख रुपैयाँसम्मको सेयर कर्जामा जोखिम भार १ सय प्रतिशत लागू गर्न निर्देशन दिएपछि लगानीकर्ताहरु थप कर्जा लिन हौसिएका हुन् ।

बैंक तथा वित्तीय संस्थाहरुले गत वर्ष सेयर कर्जा घटाएपनि चालू आर्थिक वर्षमा भने बढ्ने देखिएको बैंकरहरु बताउँछन् । उनीहरुका अनुसार कर्जा प्रवाहमा सहज हुँदै गएकाले यस वर्ष सेयर कर्जा वृद्धि हुनेछ ।

गत वर्ष बैंकहरुले सेयर कर्जा १४.७१ प्रतिशत घटाएर ७४ अर्ब ६९ करोड ९३ लाख रुपैयाँको मात्रै प्रवाह गरेको राष्ट्र बैंकको तथ्याङ्क छ । अघिल्लो वर्षको जेठसम्म ८७ अर्ब ५८ करोड ८६ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका थिए ।

गत जेठसम्म वाणिज्य बैंकहरुले ५७ अर्ब ५३ करोड ६३ लाख रुपैयाँ, विकास बैंकहरुले १३ अर्ब ५४ करोड ३५ लाख रुपैयाँ र फाइनान्स कम्पनीहरुले ३ अर्ब ६१ करोड ९४ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ ।

अब बैंकहरुमा लगानी योग्य पूँजी तथा तरलता सहज भएपछि सेयर कर्जा प्रवाहमा जोड दिन थालेका हुन् । विगत केही महिनादेखि ठप्प रहेको सेयर कर्जा फेरी बढ्ने बैंकहरुले अपेक्षा गरेका छन् । गत वर्ष बैंकिङ्ग क्षेत्रमा तरलता अभाव भएपछि राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाई गरेको थियो । अब, तरलता हुँदै गएपछि राष्ट्र बैंकले सेयर धितो राखेर दिने कर्जा बढाउन चाहेको देखिन्छ ।

बैंकहरुले आधार दरमा प्रिमियम जोडेर कर्जाको ब्याजदर निर्धारण गर्दछन् । जसको आधार दर र प्रिमियम दर कम छ सो बैंकको कर्जाको ब्याज पनि सस्तो पर्छ । बैंकहरुको तथ्याङ्क अनुसार सेयर कर्जामा सबैभन्दा सस्तो ब्याजदर राष्ट्रिय वाणिज्य बैंकको छ । राष्ट्रिय वाणिज्य बैंकले न्यूनतम ११.२७ प्रतिशतमा सेयर कर्जा दिने गरेको छ । बैंकको आधार दर ८.०२ प्रतिशत छ भने सेयर कर्जाको प्रिमियम ३.२५ देखि ३.५० प्रतिशत तोकिएको छ ।

बैंकका अनुसार ऋणीको अवस्था हेरेर प्रिमियम निर्धारण गरिन्छ । यदि असल ऋणी सेयर कर्जाका लागि बैंकमा आउनु भयो भने आधार दरमा ३.२५ प्रतिशत गणना गरेर सेयर कर्जामा ब्याजदर निर्धारण गर्ने गरेको बैंकले बताएको छ । सेयर धितो कर्जामा राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर बैंकिङ्ग क्षेत्रमै सबैभन्दा सस्तो हो ।

यस्तै, नेपाल बैंकले न्यूनतम ११.९४ प्रतिशत ब्याजदरमा सेयर कर्जा प्रवाह गर्ने गरेको जनाएको छ । बैंकले सेयर कर्जामा आधार दर ९.४४ प्रतिशतमा २.५ प्रतिशतदेखि ५ प्रतिशत प्रिमियम दर गणना गर्ने गरेको छ ।

यस्तै, नबिल बैंकले १२.५२ प्रतिशतमा सेयर धितो कर्जा प्रवाह गर्ने गरेको छ । बैंकले आधार दर ९.५२ प्रतिशतमा न्यूनतम ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम जोड्ने गरेको बताएको छ ।

यस्तै, कृषि विकास बैंकले सेयर धितोमा १२.६४ प्रतिशत ब्याजमा कर्जा दिने बताएको छ । बैंकको आधार दर १०.१४ प्रतिशत छ भने २.५ प्रतिशत प्रिमियम लिने बैंकको भनाइ छ ।

यस्तै, कुमारी बैंकले न्यूनतम १२.७८ प्रतिशतमा सेयर धितो कर्जा दिने बताएको छ । बैंकले आधार दर १०.७८ प्रतिशतमा ऋणको स्थिती हेरेर न्यूनतम २ प्रतिशतदेखि ४.५ प्रतिशतसम्म प्रिमियम तोक्ने बताएको हो ।

यस्तै, सिद्धार्थ बैंकले १४.४१ प्रतिशत, सिटिजन्स बैंकले १४.५१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १४.५७ प्रतिशत, एभरेष्ट बैंकले १४.६१ प्रतिशत, माछापुच्छ्रे बैंकले १४.७४ प्रतिशत र एनआईसी एशिया बैंकले १४.९८ प्रतिशत ब्याजमा सेयर धितो कर्जा दिने बताएका छन् ।

यस्तै, ग्लोबल आइएमई बैंकले १५.०८ प्रतिशत, सानिमा बैंकले १५.१५ प्रतिशत, प्रभु बैंकले १५.१६ प्रतिशत, एनएमबि बैंकले १५.२४ प्रतिशत, प्राइम बैंकले १५.५७ प्रतिशत, नेपाल एसबिआई बैंकले १५.७२ प्रतिशत, लक्ष्मी सनराइज बैंकले १५.८० प्रतिशत र हिमालयन बैंकले १५.८४ प्रतिशत ब्याजमा सेयर धितो कर्जा दिने गरेका छन् ।

 

Share News