काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तिम समयमा बढेर बन्द भएको छ । नेप्से सूचक दिनभरीमा घट्दैबढ्दै अन्ततः ९.२५ अंकले बढेर २०८६.८४ अंकमा बन्द भएको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको मौद्रिक नीतिपश्चात् ओरालो लाग्दै आएको नेप्से बुधबार भने बढेको हो ।
बुधबार दिनभरिमा २६९ कम्पनीको ९३ लाख ६१ हजार ७८६ कित्ता सेयर ३५ हजार ८३५ पटक खरिद बिक्री हुँदा १ अर्ब ८१ करोड २४ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार दिनभरिमा ११७ कम्पनीको सेयर मूल्य बढेको छ भने ८१ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज शिवम् सिमेन्टको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ११ करोड १९ लाख ३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, सानिमा बैंकको ८ करोड ९० लाख २७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रभु स्मार्ट फण्डको सेयर मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ । सो फण्डको मूल्य ०.९३ रुपैयाँ घटेर ८.३७ रुपैयाँमा झरेको नेप्सेको तथ्याङ्क छ ।
यस्तै, नेप्सेका अनुसार जलविद्युत, लघुवित्त र ब्यापार समूहबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । जलविद्युत समूहको ०.२४ प्रतिशत, लघुवित्त समूहको ०.२८ प्रतिशत र ब्यापार समूहको ०.०६ प्रतिशतले घटेको छ । बुधबार फाइनान्स समूह १.६९ प्रतिशतले बढेको छ । यस्तै, विकास बैंक समूह १.०१ प्रतिशत र होटल तथा पर्यटन समूह १.४० प्रतिशतले बढेको नेप्सले बताएको छ ।
बुधबार वित्तीय विवरण सार्वजनिक गरेको माछापुच्छ्रे बैंकको सेयर मूल्य बढेको छ । बैंकको सेयर मूल्य ३.०१ प्रतिशत अर्थात् ७.६० रुपैयाँ बढेर २६०.४० रुपैयाँ पुगेको छ ।