
काठमाडौं । अनलाइन बस टिकटिङ्ग सेवा प्रदायक बससेवा डटकम नवौं वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले दशौं वर्षमा प्रवेशकाे अवसरमा यात्रुहरूको लागि अफर ल्याएको छ ।
बससेवा वार्षिक उत्सवको अवसरमा १० दिनसम्म हरेक दिन १० जनाले निःशुल्क यात्रा गर्न सक्ने अफर ल्याएको कम्पनीले बताएकाे छ । कम्पनीका अनुसार हरेक दिन गोलाप्रथा मार्फत सात प्रतिशत क्यासब्याक प्रदान गरिने छ ।
विजेताको नाम सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिने पनि बताइएको छ । बससेवाले नेपालभरका अधिकांश रूटहरूमा सेवा प्रदान गर्दै आएको छ । यसका साथै भारतका नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुर लगायतका शहरमा समेत अनलाइन टिकट बुकिङ्ग सेवा प्रदान गर्दै आएको बताएको छ ।
बससेवा टुर्स एण्ड ट्राभल्स् अन्तर्गत रहेर २०७१ साउन २१ गतेबाट उक्त कम्पनीले सेवा सुरू गरेको थियाे । बससेवामार्फत दैनिक ३ हजार भन्दा बढी यात्रुले टिकट काटी यात्रा गर्दै आएको बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले बताए ।
बससेवाले यात्रुहरूलाई बस कुर्न झन्झट नहोस् भन्ने उद्देश्यले काठमाडौको ढुङ्गेअड्डामा प्यासेञ्जर लाउञ्ज समेत सञ्चालनमा ल्याएको छ । सो लाउञ्जमा यात्रुहरूलाई वाइफाइ, खानेपानी लगायतका सुविधा उपलब्ध छन् । लाउञ्जबाट सिधै बस चढ्न सक्ने व्यवस्था छ ।
दशौँ वर्ष प्रवेशको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले भने ‘बससेवा डटकमले यातायात क्षेत्रलाई प्रविधिसँग जोड्दै यात्रुहरूलाई अनलाइन मार्फत टिकट प्रदान गर्ने उद्देश्यले आफ्नो सेवा सुरू गरेको हो ।’