काठमाडौं । लामो समयदेखि तरलताको अभाव खेपिरहेका बैंकहरुलाई अहिले पैसाको सकस छैन । बैंकिङ प्रणालीमा अहिले प्रयाप्त मात्रामा तरलता छ । तर, बैंकरहरु भने प्रणालीमा प्रयाप्त मात्रामा तरलता भएपनि ‘इन्डिभिड्युल बैंकमा’ तरलता नभएको धारणा राख्छन् ।
प्रणालीमा प्रयाप्त तरलता भएका बैंकहरुले अनुत्पादक क्षेत्रमा कर्जा लगानी गर्न भने डराएका छन् । नियामक राष्ट्र बैंकको कठोर नीति र वर्तमान अर्थतन्त्रको अवस्था देखेर बैंकरहरु डराएर ठूलो रकमको कर्जा दिन आनाकानी गरिरहेका छन् ।
एक बैंकरका अनुसार अहिले बैंकहरुले सेयर र घरजग्गा कर्जा दिन मानिरहेका छैनन् । अन्य क्षेत्रबाट गएको कर्जाको मागलाई सहजै स्वीकार गर्ने बैंकहरुले सेयर र घरजग्गा क्षेत्रको कर्जालाई भने अनेक बाहना बनाएर टार्ने गरेको बुझिएको हो ।
एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिृकतका अनुसार अहिले राष्ट्र बैंकले अनुत्पादक क्षेत्रको कर्जालाई सक्ष्म ढंगले हेर्ने गरेकोले बैंकहरुले पनि अनुत्पादक क्षेत्रका लागि आउने कर्जाको मागललाई विशेष ढंगले अध्ययन गरेर कर्जा प्रवाह गर्ने गरेका छन् भने ठूलो रकमको कर्जाको फाइल पेण्डिङमा राख्ने गरेका छन् ।
ती बैंकरका अनुसार अहिले सेयर र घरजग्गाबाटै बढी कर्जाको माग छ । अन्य क्षेत्रबाट आउने कर्जाको माग भने न्यून रहेको उनको भनाइ छ । सानिमा बैंकका सीईओ निश्चलराज पाण्डेले अहिले कर्जाको माग नभएको जानकारी दिए । उनका अनुसार बैंकहरुसँग प्रयाप्त तरलता भएपनि कर्जाको माग छैन । उनले पनि अन्य क्षेत्रको तुलनामा अनुत्पादक क्षेत्रको कर्जाको माग बढी रहेको जानकारी दिए ।
उनले पनि अनुत्पादक क्षेत्रको कर्जा बैंकहरुले केही कडाइ गरेको बताए । ‘हरेक आर्थिक वर्षको सुरुवातमा खासै ठूलो मात्रामा कर्जाको माग हुँदैन, दशैं र दशैंपछि मात्रै कर्जाको माग बढ्ने गरेको छ, अहिले बैंकहरुसँग तरलता भएपनि माग छैन, अनुत्पादक क्षेत्रबाट माग भएपनि त्यसमा बैंकहरु केही ‘स्टिक’ बन्नु पर्ने अवस्था छ,’ उनले भने ।
नेपाल राष्ट्र बैंकले पनि अनुत्पादक क्षेत्रमा जाने कर्जामा कडाइ गरिरहेको छ । सेयरधितो कर्जामा १२ करोड रुपैयाँसम्मको सीमा कायम गरेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत् राष्ट्र बैंकले सेयरधितो कर्जाको जोखिम भारमा भने केही लचिलो नीति ल्याएको छ । मौद्रिक नीतिमा ५० लाख रुपैयाँसम्मको सेयरधितो कर्जाको जोखिमभार सय प्रतिशत कायम गरेको छ । यसले केही सहज हुने विश्वास भएपनि सेयर बजारमा भने कुनै सकारात्मक प्रभाव पर्न सकेको छैन । उल्टै चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजिनक भए पश्चात् सेयर बजार १०७ अंकले घटिसकेको छ । यसले पनि लगानीकर्ताहरु ठूलो समस्यामा रहेको संकेछ गर्छ ।
अहिले ठूला सेयर लगानीकर्ता र घरजग्गा व्यवसायीले बैंकबाट ऋण पाउन सकेका छैनन् । कुमारी बैंकका नायब प्रमुख कार्यकारी अधिृकत (डीसीईओ) रामचन्द्र खनालले भने प्रणालीमा प्रयाप्त मात्रामा तरलता देखिए पनि बैंकमा त्यति धेरै नहुँदा कर्जा प्रवाह हुन नसकेको बताए । सरकारले निर्माण व्यवसायीको बक्यौता भुक्तानी नगर्दा बैंकहरुसँग पनि खासै बढी तरलता नभएको उनको तर्क छ ।
बैंकरहरुका अनुसार अहिले प्रतितपत्र (एलसी) पनि खोल्न सकिएको छैन । नेपाल राष्ट्र बैंकले प्राथमिकताका क्षेत्रहरु तोकेको छ । ती क्षेत्रहरुमा अधिकांश बैंकहरुले कर्जा लगानीको सीमा पुरा गर्न सकेका छैनन् । ती क्षेत्रमा कर्जा लगानी पुरा गर्नको लागि पनि बैंकहरुले अनुत्पादक क्षेत्रको कर्जामा केही कडाइ गरेको बुझिएको हो ।
अहिले बैंकहरुलाई पुँजी कोषको पनि सकस छ । कुल कर्जाको ११ प्रतिशतसम्म पुँजीको रकम प्रयोग गर्नु पर्ने व्यवस्था छ । पुँजी कोष टाइट हुँदा पनि बैंकहरुले निक्षेपको रकम कर्जाको रुपमा दिन सकिरहेका छैनन् । यसले पनि अहिले बैंकहरु कर्जा दिन नसक्ने अवस्थामा छन् । सेयर र घरजग्गा क्षेत्रमा जोखिमभार १५० प्रतिशतसम्म भएकोले पनि त्यसका लागि क्यापिटलको रकम प्रयोग गर्नु पर्ने भएकोले सेयर र घरजग्गा क्षेत्रमा कर्जा प्रवाह रोकेको बैंकरको धारणा छ ।
बैंकहरुले पछिल्लो समय अन्य क्षेत्रको कर्जाको माग बढोस् भन्ने किसिमले ब्याजदर पनि घटाएका छन् । अहिले बैंकहरुले सेयर कर्जामा न्यूनतम १० प्रतिशतदेखि अधिकतम् १५ प्रतिशतसम्म सेयर कर्जामा ब्याज लिइरहेका छन् ।
गत आर्थिक वर्षको जेठसम्म बैंकहरुले कुल ५७ अर्ब ५३ करोड ६३ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । अघिल्लो वर्षको जेठसम्म ८७ अर्ब ५८ करोड ८६ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका थिए । यो तथ्यांकले पनि सेयर कर्जा घटेको देखिन्छ ।