काठमाडौं । बिहीबारको बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबै बढेको छ । बजारमा परिसूचक ५.१३ अंकले बढेर २०६६.०५ बिन्दुमा पुगेको छ । जुन बुधबारको तुलनामा ०.२४ प्रतिशतले बढी हो ।
त्यस्तै, कारोबार रकम पनि २६ करोड ८२ लाख रुपैयाँले बढेको छ । बुधबार एक अर्ब ८८ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार भने बढेर २ अर्ब १५ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
दिनभरको कारोबारमा २६९ वटा स्क्रिप्सहरु कारोबारमा आएका थिए । जसमध्ये सोल्टी होटलको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बिहीबार होटलको १६ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार गर्नेको दोश्रो स्थानमा अपर तामाकोशी हाइड्रोपावर रहेको छ । जसको एकैदिन ११ करोड २५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । जसमध्ये अभियान लघुवित्त वित्तीय संस्थाको सेयर भने सर्किट लेभलमा कारोबार भएको छ । जसको सेयर मूल्य ९.०९ प्रतिशतले प्रतिकित्ता ७८० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतिकित्ता ६५ रुपैयाँले बढी हो ।
यता टप लुजरको शीर्ष स्थानमा पनि लघुवित्त संस्था छ । हिमालयन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.५३ प्रतिशतले घटेर प्रतिकित्ता ६१६ रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ४३ रुपैयाँले घटेको छ ।