काठमाडौं । भारतले मूल्यवृद्धि रोक्नका लागि नेपालबाट टमाटर लिने भएको छ । अहिले भारतीय बजारमा विभिन्न तरकारी तथा फलफूलको मूल्य बढिरहेको बेला नेपालबाट टमाटर आयात गरेर महँगी कम गर्ने रणनीति भारतले बनाएको हो ।
यसको जानकारी भारतकी अर्थमन्त्री निर्मला सितारमणले गराएकी छन् । बिहीबार लोकसभामा बोल्दै उनले भारतीय बजारमा टमाटरको मूल्य कम गर्न नेपालबाट आयात गर्ने जानकारी गराइन् ।
यसअघि भारतमा विदेशी टमाटर आयात प्रतिबन्ध थियो । तर, भारतले अहिले बजारमा टमाटर महँगो भएपछि नेपालको टमाटर खरिद गर्ने योजना बनाएको हो ।
‘हामीले टमाटरको आयात गर्नका लागि आयात प्रतिबन्ध हटाएका छौं, अब नेपालबाट हामी टमाटर आयात गर्नेछौं, यसले महँगी रोक्ने हाम्रो विश्वास छ,’ उनले भनिन् ।
हाल दिनप्रतिदिन बढिरहेको टमाटरको मूल्य नेपालबाट आयात गरेपछि प्रतिकेजी ७० रुपैयाँ कायम हुने भारतको विश्वास छ । अहिले भारतमा एककेजी टमाटरको मूल्य २ सय रुपैयाँसम्म पुगेको छ । नेपालबाट आयात भएको टमाटरको मूल्य स्थानीय बजारमा ८०÷८५ रुपैयाँसम्म पर्न जाने उनको भनाइ छ ।
अहिले नेपालमा पनि प्रतिकेजी टमाटरको मूल्य १६० रुपैयाँसम्म पर्छन । केही दिन अघि टमाटरले बजार नपाएको भन्दै किसानले सडकमै टमाटर फालेका थिए । अहिले मूल्य बढ्दै गएको हो ।