मर्जरमा गएका बैंकहरुमा ‘ओभरस्टाफ’को समस्या

<p>काठमाडौं । एक वर्षअघि मर्जर गरेको नबिल बैंकले कर्मचारी कटौति गर्न तेस्रो पटक स्वेच्छिक अवकास सुविधा (भीआरएस) ल्याउने तयारी गरिरहेको छ । मर्जरको अवधिमा साविक नेपाल बङ्गलादेश बैंकले पहिलो पटक यो सुविधा ल्याएको थियो । त्यसपछि मर्जर सम्पन्न भएपछि र अहिले पुनः तेस्रो पटक भिआरएस सुविधा ल्याउन लागेको हो । सो अवधिमा बैंकबाट ७० जनाभन्दा [&hellip;]</p>

काठमाडौं । एक वर्षअघि मर्जर गरेको नबिल बैंकले कर्मचारी कटौति गर्न तेस्रो पटक स्वेच्छिक अवकास सुविधा (भीआरएस) ल्याउने तयारी गरिरहेको छ । मर्जरको अवधिमा साविक नेपाल बङ्गलादेश बैंकले पहिलो पटक यो सुविधा ल्याएको थियो । त्यसपछि मर्जर सम्पन्न भएपछि र अहिले पुनः तेस्रो पटक भिआरएस सुविधा ल्याउन लागेको हो ।

सो अवधिमा बैंकबाट ७० जनाभन्दा बढी कर्मचारी भिआरएस सुविधा लिएर बाहिरिसकेका छन् । त्यतिबेला भिआरएस सुविधा लिने अधिकांश कर्मचारी साविक नेपाल बङ्गलादेश बैंकका रहेका थिए । सो सुविधामा बैंकका उच्च तहकै कर्मचारी बाहिरिएका थिए ।

एउटै विभागमा दोहोरिएका कर्मचारी कटौति गर्न भीआरएस सुविधा ल्याउने तयारी बैंकले गरिरहेको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनोज ज्ञवाली बताउँछन् । तर, उनी नबिल बैंकमा ओभरस्टाफ नभएको दाबी गर्छन् । एउटै पदमा दुई जना भएपछि एक जनालाई भीआरएस सुविधा दिएर बिदा गर्नु स्वभाविक रहेको उनको भनाइ छ ।

‘भीआरएस सबै कर्मचारीलाई भन्दा पनि टप एक्जिक्यूटिभ अर्थात् सिनियर तहका कर्मचारीका लागि निकालिन्छ, एउटै विभाग प्रमुखमा २ जना चाहिँदैन,’ उनले भने, ‘एचआर, आईटी, फाइनान्स लगायतको विभागमा दुइ जना हेड चाहिँदैन, त्यसैले भीआरएसको माध्यमबाट कर्मचारी निकाल्नु स्वभाविक हो ।’

उनका अनुसार नबिल बैंकमा ओभर स्टाफ नभएपनि टप हेडिङमा काँटछाँट गर्ने तयारी गरिरहेको छ । नबिल बैंकमा हाल २ हजार ४ सय भन्दा बढी कर्मचारी छन् ।

हालै मर्जर सम्पन्न भएको लक्ष्मी सनराइज बैंकले पनि भिआरएस सुविधा लागू गरेको छ । बैंकले ल्याएको भिआरएस सुविधा साविक सनराइज बैंकका सीईओ सुमन शर्मासहित ५० जनाले लिएका छन् । साविक सनराइज बैंकबाट ४० जना र साविक लक्ष्मी बैंकबाट १० जनाले भिआरएस सुविधा लिएको बैंक स्रोतले बताएको छ ।

साविक सनराइज बैंकबाट सीईओ सुमन शर्मा, नायव महाप्रबन्धक (डीजीएम) रोविन नेपाल र प्रमुख प्रबन्धक प्रितम लाल श्रेष्ठले भिआरएस लिएका छन् । साथै, अन्य कर्मचारीहरुमा जुनियर लेभल र सपोर्टेड तहका रहेको स्रोतको भनाइ छ । नेपाल र श्रेष्ठले अवकाश पाउने बेला भएकाले भिआरएस सुविधा लिएका हुन् । लक्ष्मी सनराइज बैंकमा ३ हजार १ सयभन्दा बढी कर्मचारी छन् । बैंक अझै कर्मचारी कम गर्ने योजनामा छ ।

यस्तै, सेञ्चुरी बैंक गाभेको ६ महिनापछि प्रभु बैंकले पनि भिआरएस सुविधा ल्याएको छ। बैंकले सबै कर्मचारीलाई भिआरएस सुविधा ल्याएको बताएको छ । ३ हजार ५ सय कर्मचारी रहेको यस बैंकमा कर्मचारीको संख्या बढी भएकै कारण भिआरएस सुविधा ल्याएको बैंक स्रोतले बताएको छ ।

स्रोतका अनुसार बैंकमा कार्यरत कर्मचारीको संख्या अनुसारको प्रतिफल बैंकलाई नदिएका कारण कर्मचारी कटौति गर्नु परेको हो । बैंकले २ वर्षसम्मको सेवा सुविधा दिएर भिआरएसमा कर्मचारी कटौति गर्न लागेको जनाएको छ । गत पुस २६ गते सेञ्चुरी बैंकलाई गाभेको प्रभुले सो समयमा भिआरएस सुविधा ल्याएको थिएन ।

हिमालयन बैंकसँग गाभिएको तत्कालीन सिभिल बैंकले पनि यो सुविधा ल्याएको थियो । साविक सिभिल बैंक हिमालयनमा गाभिएपछि सीईओ सुनिल पोखरेलसहति ८ जना कर्मचारी भिआरएसमा बाहिरीएका थिए । यस्तै, साविक सिभिलबाट सुमन आचार्य, सागर पौडेल, अविजित श्रेष्ठ, किरण प्रकाश पाण्डे, रोशन ढकाल, किरण खड्का र गोवर्द्धन अधिकारी बैंकबाट बाहिरिएका थिए ।

हिलमायन बैंकका एसिस्टेन्ट चिफ एक्जिक्यूटीभ अफिसर सुनिल प्रसाद गोर्खाली पहिले सिभिलले भिआरएस सुविधा ल्याएपनि हिमालयनले नल्याएको बताउँछन् । तर, अहिले हिमालयन बैंकमा पनि ओभरस्टाफको समस्या रहेको बुझिएको छ । सिभिल बैंकबाट चाथौ वरियतामा काम गर्ने भनेर गएका सचिनजङ्ग रायमाझी बैंकमा असन्तुष्ट बनेर बाहिरिसकेका छन् ।

यस्तै, मर्जर भएको ६ महिनापछि ग्लोबल आइएमई बैंकले दोस्रो पटक भिआरएस सुविधा ल्याएको छ । बैंकका अनुसार २८ जना कर्मचारीले भिआरएस सुविधा लिएका छन् । बैंकले यसअघि साविक बैंक अफ काठमाण्डसँग मर्जर गर्दा पनि भिआरएस सुविधा दिएको थियो । त्यो बेलामा पनि केही कर्मचारीले भिआरएस सुविधा लिएका थिए ।

मर्जर पछि बैंकमा कर्मचारीको संख्या उच्च भएका कारण कारण कटौति गर्नु परेको बैंकका एक सञ्चालकले विकासन्युजलाई बताए । उनका अनुसार बैंकमा झण्डै ४ हजार कर्मचारी छन् ।

‘मर्जरपछि धेरै शाखा कार्यालय मर्ज गर्नु पर्यो, मर्जर गर्दा कर्मचारीको संख्या बढी भएपछि भिआरएस ल्याउनु परेको हो,’ उनले भने, ‘भिआरएसको माध्यमबाट कर्मचारी कटौति गर्न खोजेका हौं, यसबाट पनि बैंकको खर्च कटौति हुन्छ ।’

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने भिआरएस सुविधा ल्याउने कुनै योजना बनाएको छैन । ३ हजार २ जना कर्मचारी रहेको यस बैंकमा कर्मचारी समायोजनमा कुनै समस्या नरहेको सञ्चालक गोपाल खनाल बताउँछन् । २ वटा ठूला बैंक मर्जर हुँदा कर्मचारी कटौति गर्न भिआरएर सुविधा दिनु स्वभाविक रहेको उनको भनाइ छ । साथै, मर्ज भएका शाखाका कर्मचारीलाई भिआरएस दिएर बिदा गर्नु उचित नै रहेको उनले बताए ।

‘बैंकिङ्ग क्षेत्रमा कर्मचारीको भार कम हुँदै गएको छ, हिजोको दिनमा बैंकको शाखामा एकरडेढ घण्टा लाइन लाग्नुपर्थ्यो तर, अहिले आधा घण्टा पनि कुर्नु पर्दैन,’ उनले भने, ‘फेरि बैंकहरु डिजिटल पनि बन्दै छन्, अधिकांश सेवा डिजिटल माध्यमबाट दिइरहेका छन्, त्यसैले बैंकहरुले कर्मचारी कटौति गर्नु स्वभाविक हो ।’

कर्मचारीलाई ह्यारेसमेन्ट गर्ने हिसावले भिआरएस निकाल्नु बैंकको हितमा नहुने उनको भनाइ छ । उनका अनुसार मर्जका माध्यमबाट आएका कर्मचारीको सुरक्षा गर्नु पर्ने हुन्छ । तर, खर्च कटौती गरेर नाफा बाँड्न कहिलेकाहीँ भिआरएस जरुरी हुने उनले बताए । किनभने माथिल्लो तहमा ओभर स्टाफिङ भयो भने सम्हाल्न गाह्रो हुन्छ ।

एनआईएमबि बैंकमा ओभर स्टाफको समस्या नरहेको उनको भनाइ छ । एकाध कर्मचारी घरायसी कारण बाहिरिएपनि बैंकको दबावका कारण नबाहिरीएको उनको भनाइ छ ।

बिग मर्जर गरेका अधिकांश बैंकहरुमा अहिले आवश्यक भन्दा बढी कर्मचारी (ओभरस्टाफ) को समस्या देखिएको छ । एउटै विभागमा दुई/तीन जना प्रमुख हुने समस्या छ । बैंकहरुलाई यो विषयको समस्या भइरहेको छ । यसको समाधान गर्न अधिकांशले भिआरएस सुविधा ल्याइरहेका छन् ।

Share News