काठमाडौं । मिड सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन १४ गतेदेखि बिक्री खुला गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज साउन २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई भने आवेदन दिने समय भने थप गरिएको छ । स्थानीय बासिन्दाहरुले अब कम्पनीको आईपीओमा साउन ३० गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ७ लाख ४८ हजार ४ सय कित्ता स्थानीय बासिन्दालाई बिक्री खुला गरेको हो । जसमध्ये ५ लाख ६१ हजार ३ सय कित्ता अति प्रभावित क्षेत्र सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका ३, ४, ५, ६, ६ र ८ का बासिन्दा र १ लाख ८७ हजार १ सय कित्ता सोलुखुम्बुको आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आवेदन दिन सक्ने छन् ।
साथै, सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ७४ लाख ८४ हजार रुपैयाँ बराबरको ७४ हजार ८४ कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा रोजगार गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
स्थानीय लगानीकर्ताले आयोजना स्थल, एनआईसी एशिया बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् ।
इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।