
काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेको छ ।
आइतबार नेप्से परिसूचक १४.८१ अंक बढेर २०८०.८६ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ३.९१ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४७ अंक बढेको छ ।
गत बुधबार र बिहीबार पनि नेप्से बढेको थियो । आइतबारको बजारले पनि सोही क्रमलाई निरन्तरता दिएको छ ।
आइतबार कारोबार रकम पनि बढेको छ । आइतबार २७१ स्टकको ९५ हजार ९६५ पटकको कारोबारमा ३ अर्ब १ करोड ८४ लाख ६० हजार रुपैयाँ बराबरको ९७ लाख १८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
आइतबारको बजारमा थ्रीस्टार हाइड्रोपावर र अप्पर साङ्गे हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने घोराही सिमेन्ट्सको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

त्यसैगरी, माउन्टेन इनर्जीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ ।
कारोबार रकमका आधारमा भने नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सको ५८ करोड ४५ लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ ।
आइतबार १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकिङ्ग र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक घटेको छ ।