काठमाडौं । गत साउन २५ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको आईपीओ सूचीकृत भयो । नेप्सेमा सूचीकृत भएपछि घोराही सिमेन्ट इण्डष्ट्री, थ्रीस्टार हाईड्रोपावर र अप्पर स्याँङ्गे हाईड्रोपावरको सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आयो ।
एकैदिन कारोबारमा आएका यी तीन कम्पनीहरूमध्ये थ्रीस्टार हाईड्रो र अप्पर स्याँङ्गे हाईड्रोपावरको सेयर मूल्य बढीरहेको छ भने घोरोही सिमेन्टको सेयर मूल्यले ओरालो यात्रा समातेको छ । दोस्रो बजारमा सूचीकृत भएपछि अधिकांश कम्पनीहरुको मूल्य केही दिनसम्म भएपनि उकालो लाग्ने गरेको छ । तर, घोराही सिमेन्टको सेयर मूल्य भने पहिलो दिनदेखि ओरालो लागिरहेको छ ।
कारोबार खुलेको पहिलो दिन नै कम्पनीको सेयर मूल्य नकारात्मक सर्किट अर्थात् ९.९९ प्रतिशत घटेर बन्द भएको थियो । दोस्रो दिन पनि कम्पनीको सेयर घटेर नै कारोबार भइरहरेको छ । सेयर कारोबार सुरु भएको २० मिनेटटको अवधिमा कम्पनीको सेयर मूल्य ७ रुपैयाँ अर्थात् १.३८ प्रतिशत घटेको छ ।
समाचार तयार पार्दासम्म कम्पनीको ४३ हजार ८९ कित्ता सेयर २ हजार १६९ पटक खरिद बिक्री हुँदा २ करोड २८ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस्तै, थ्रीस्टार हाईड्रोपावर र अप्पर स्याँङ्गे हाईड्रोपावरको सेयर मूल्य भने सकारात्मक सर्किट हानिरहेको छ । थ्रीस्टार हाईड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशत अर्थात् २८ रुपैयाँ बढेर २०८.५० रुपैयाँमा कारोबार भइरहेको छ भने अप्पर स्याँङ्गेको हाईड्रोका सेयर ९.९७ प्रतिशत अर्थात् २७.८० रुपैयाँ बढेर ३०६.७० रुपैयाँमा कारोबार भइरहेको छ ।