
काठमाडौं । सोमबार सेयर बजारको नेप्से परिसूचक ३.६१ अंकले घटेको छ ।
कारोबारको अधिकांश समय सकारात्मक रहेको बजार अन्तिममा घटेर नेप्से २०७७.२४ विन्दुमा पुगेको छ ।
सोमबारको कारोबारमा फ्लोट इण्डेक्स ०.२७ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१३ अंक बढेको छ ।
सोमबार कारोबार रकम पनि घटेको छ । अघिल्ला तीनको कारोबार निरन्तर उकालो लागेको थियो । तर, सोमबार भने घटेको बजारमा २७९ स्टकको ६८ हजार ८४२ पटकको कारोबारमा २ अर्ब ९ करोड १३ लाख रुपैयाँ बराबरको ५४ लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
सोमबार थ्रीस्टार हाइड्रोपावर र अप्पर साङ्गे हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरी, यस दिन सिवाईसी लघुवित्तको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ ।
कारोबारमा आएको सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ६.४६ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा सोमबार आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । उक्त कम्पनीको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, सोल्टी होटलको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
सोमबारको बजारमा १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ ।
यस दिन बैंकिङ्ग, विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको हो । कारोबारमा आएका होटल तथा पर्यटन, जलविद्युत र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढीले घटेको छ ।