काठमाडौं । गत एक वर्षमा २१ वटा बीमा कम्पनीहरु मर्जरमा गए । पुँजी थप्न नियामक निकाय बीमा प्राधिकरणको निर्देशनसँगै जीवन र निर्जीवन बीमा दुबै क्षेत्रका कम्पनीहरुको लागि मर्ज एउटा विकल्प बन्यो ।
बीमा प्राधिकरणको उद्देश्य पनि मर्ज गराएर कम्पनीहरुको संख्या झार्नु थियो । जुन नेपाल राष्ट्र बैंकले बैकिङ क्षेत्रमा गरेको अभ्यासको अनुसरण थियो । प्राधिकरणको उद्देश्य धेरै हदसम्म पुरा भयो । मर्जसँगै ११ वटा बीमा कम्पनी विलय भए ।
मर्जरमा गएपछि पुँजी वृद्धिसँगै व्यवसायमा सिनर्जी आउने विश्वासका साथ कम्पनीहरुले मर्जरको बाटो रोजेका थिए । तर मर्जपछि सिनर्जी भन्दा जटिलता र जोखिम बढी सामना गर्नु परेको अनुभवी व्यवस्थापकहरु बताउँछन् ।
मर्ज भई एकीकृत कारोबार गरिसकेका कम्पनीहरुलाई मर्जर पछि विभिन्न विभागको व्यवस्थापन गर्न केही सकस परेको देखिन्छ । त्यसमध्ये सबैभन्दा बढी समस्या ओभर स्टाफिङको अर्थात बढी संख्यामा कर्मचारी जम्मा हुनु रहेको छ ।
कर्मचारी बढी भयो र व्यवस्थापन समस्या भयो भनेर बीमा कम्पनीहरुले खुलेर बोल्छ सकेका छैनन् । एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले आफ्नो कम्पनीमा करिब २०० जना कर्मचारी बढी भएको बताए । ‘स्वेच्छिक अवकाश कार्यक्रम ल्याउन कम्पनीको दायित्व बढ्छ, सञ्चालक समितिले मान्दैन’ उनले भने-‘बोर्डले काम लगाऊ, बिजनेश बढाऊ भन्छ, तर देशमा आर्थिक मन्दी छ, बीमा बजार विस्तार गर्न सकिएको छैन, कसरी काम लगाउने भन्ने समस्या छ’ उनले भने ।
अर्को एक बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतले पनि आफ्ना दुःख सुनाए । ‘दुई कम्पनी मर्ज भयो, मर्जपछि दुई वटै सीईओ राख्न मिलेन, विभागीय प्रमुखहरु २/२ जना राख्न मिलेन, डीजीएम, एजीएम सबैलाई भकारीमा धान राखेझै राख्नु परेको छ, उनीहरुलाई कसरी काम लगाउने, के जिम्मेवारी दिने भन्नेमा ठूलो अन्यौलता छ, मर्जपछि पनि कर्मचारी हटाउन पाइदैन भनेर बीमा प्राधिकरणले भनेको छ, नियामकले भनेपछि मान्नै पर्यो’ उनले एकै सासमा भने ।
मर्जरपछि कम्पनीहरुमा ओभर स्टाफिङको समस्या उत्पन्न भएको विषयमा नेपाल बीमा प्राधिकरण पनि जानकारी छ । तर दुई कम्पनी एक हुँदा दुई कम्पनीका कर्मचारी एक कम्पनीमा भएपछि शुरु शुरुमा समस्या देखिनु स्वभाविक रहेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन् ।
‘शुरु शुरुमा कर्मचारीको अलि अलि असन्तुष्टि होला, यो सामान्य हो’, उनले थपे- ‘मर्जरपछि पद घटुवा हुनेहरु जस्तैः सीईओ भइरहेका व्यक्ति डीसीईओ हुँदा असन्तुष्ट होलान् । त्यो अलि अलि त भइहाल्छ ।’
बैंकिङ क्षेत्रमा भने मर्जरमा गएका बैंकहरुले धमाधम स्वच्छिक अवसका सुविधा (भीआरएस) को सेवा सुविधा ल्याइरहेका छन् । तर बीमा कम्पनीहरु भने कर्मचारीहरुलाई भीआरएसको सेवा सुविधा दिन नसक्ने बताउँछन् । दायित्व बढ्ने भएकाले अधिकांश बीमा कम्पनीहरुले भीआरएसको सुविधा नदिएको जानकारहरु बताउँछन् ।
नियामनकारी निकाय बीमा प्राधिकरणले पनि भीआरएसको विषयमा केही गर्न नसक्ने कार्यकारी निर्देशक पौडेल बताउँछन् ।
‘हामीले त कर्मचारीलाई निकाल्न पाउँदैनौं, खाइपाई आएको तलब घटाउन पाउँदैनौं भनेर निर्देशन दिएका छौं, कम्पनीहरुले सो निर्देशन पालना गर्नैपर्छ,’ उनले थपे- ‘तर भीआरएसको विषयमा नियमनकारी निकायले केही बोलेको छैन ।’
जसले भीआरएस लागू गरेका छन्, तीनमा भने समस्या कम हुँदै गएको पाइएको छ । जीवन बीमा क्षेत्रमा सबैभन्दा पहिला मर्ज भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्समा कर्मचारी व्यवस्थापनमा समस्या नरहेको कम्पनीका सूचना अधिकारी उमेशप्रसाद मैनाली बताउँछन् । उक्त कम्पनीले कर्मचारीहरुलाई दोश्रो पटकसम्म भीआरएसको सुविधा दिएकोले समस्या नरहेको उनको भनाई छ ।
‘मर्जर लगत्तै भीआरएस ल्याइयो, शुरुमा ८०/८५ जना र दोश्रो पटक पनि ४०/४५ जनाले भीआरएस सेवा सुविधा लिए, त्यसैले सूर्यज्योति लाइफमा ओभर स्टाफिङको समस्या छैन,’ चिफ सपोर्ट सर्भिसेस्का प्रमुख रहेका मैनालीले विकासन्युजसँग भने । ।
उनका अनुसार सूर्यज्योतिले मर्जर लगत्तै भीआरएसको सुविधा विभिन्न मापदण्डमा दिएको थियो । त्यसमा कर्मचारीको सेवा अवधि, कर्मचारीको तह अर्थात पोजिसन, लामो समयसम्म काम गरेको लगायत अफिसर लेभलभन्दा माथिल्लो तहका कर्मचारीलाई भीआरएस सुविधा दिइएको सूचना अधिकारी मैनालीले जानकारी गराए ।
मर्ज हुँदा कूल कर्मचारीको संख्या ६ सय ७५ जना रहेको सूर्यज्योतिमा हाल ६ सय १८ जना कर्मचारीहरु आवद्ध छन् । साविकको सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स मर्ज भई २०७९ पुसदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरु गरेका हुन् ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले भीआरएसको सुविधा बिना नै कर्मचारीको व्यवस्थापन गरेको सूचना अधिकारी सुदर्शन आचार्य बताउँछन् । गत फागुनदेखि एकीकृत कारोबार शुरु गरेको सिद्धार्थ प्रिमियरले अहिले स्टाफ म्यानेजमेन्टको काम अन्तर्गत कर्मचारीहरुलाई तालिम दिइरहेको उनी बताउँछन् । इन्स्योरेन्समा हाल करिब ६६७ जना कर्मचारीहरु आवद्ध छन् ।
गत जेठदेखि एकीकृत कारोबार गरेका युनाइटेड अजोड इन्स्योरेन्सले पनि भीआरएस बिनै कर्मचारीको व्यवस्थापन गरेको इन्स्योरेन्सका वरिष्ठ डीसीईओ कुमार बहादुर खत्री बताउँछन् । ‘भीआरएस ल्याउनु पर्ने स्थिति नै थिएन, कर्मचारी कटौती नि गर्नुपरेन, केही कर्मचारीहरु माइक्रोतिर गएका होलान्, नत्र मर्जर हुँदा र अहिलेको कर्मचारीको संख्या उस्तै उस्तै छ,’ वरिष्ठ डीसीईओ खत्रीले बताए ।
साविकको युनाइटेड र अजोड इन्स्योरेन्स मर्ज हुँदा कर्मचारीको संख्या ५८० थियो । अहिले उक्त संख्या घटेर करिब ५६०/५६५ मा झरेका छन् । घटेकामध्ये अधिकांश कर्मचारी लघुबीमामा गएको कम्पनीको भनाई छ ।
कम्पनीको समस्या सुनुवाई गर्दै बीमा प्राधिकरण
बीमा प्राधिकरणले मर्जरमा गएका कम्पनीका सीईओहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । प्राधिकरणले पोष्ट मर्जरको बारेमा बुझ्न, मर्जरपछि देखिएका समस्याहरुको सुनुवाई गर्न लगायत मर्जर पछिका विविध विषयलाई समेट्न वा समावेश गर्नको लागि उक्त कार्यक्रम गर्न लागेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन् ।
‘मर्जर भइसकेपछि अलि अलि कर्मचारीको समस्या त होला, त्यसको लागि पोष्ट मर्जर भइसकेपछि के के समस्या छन् त भनेर हामीले जो जो मर्जर भएका कम्पनीलाई बोलाएर अन्तर्क्रिया गर्न खोजिरहेका छौं,’ उनले भने ।