काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा निर्जीवन बीमा कम्पनीहरुले उल्लेख्य रुपमा नाफा बढाएका छन् । गत असारसम्मको वित्तीय विवरण सार्वजनिक गरेका १२ निर्जीवन बीमा कम्पनीहरुले ४ अर्बभन्दा बढी नाफा गरेका छन् ।
१२ वटा निर्जीवन बीमा कम्पनीले गत वर्ष ४२.६६ प्रतिशत नाफा बढाएर ४ अर्ब १६ करोड ५० लाख रुपैयाँ आर्जन गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ मात्रै खुद नाफा गरेका थिए । गत वर्ष बीमा कम्पनीहरुले १ अर्ब २४ करोड ५५ लाख रुपैयाँ नाफा बढाएका हुन् ।
समीक्षा अवधिमा सबैभन्दा धेरै नाफा नेको इन्स्योरेन्स कम्पनीले गरेको छ । यस कम्पनीले १.५२ प्रतिशत बढाएर ५५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २२.२६ प्रतिशत बढाएर ४५ करोड ८२ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले ४६.५६ प्रतिशत बढाएर ४० करोड ३१ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४० करोड ६ लाख रुपैयाँ र ओरियन्टल इन्स्योरेन्सले ३७.६२ प्रतिशत बढाएर ४० करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत असारसम्म नेपाल इन्स्योरेन्सले ९.८९ प्रतिशत बढाएर ४० करोड ५७ हजार रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ प्रतिशत बढाएर ३६ करोड ३५ लाख रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सले २८ करोड १ लाख रुपैयाँ र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २६ करोड १० लाख रुपैयाँ खुद नाफा गरेका छन् ।
यस्तै, एनएलजी इन्स्योरेन्सले १.०२ प्रतिशत बढाएर २४ करोड १० लाख रुपैयाँ, युनाइटेड इन्स्योरेन्सले ४४.६९ प्रतिशत बढाएर २० करोड २० लाख रुपैयाँ खुद नाफा गरेका छन् । अघिल्लो वर्ष ऋणात्मक रहेको नेशनल इन्स्योरेन्सले गत वर्ष भने २० करोड १८ लाख रुपैयाँ नाफा गरेको छ ।
प्रभु इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको वित्तीय विवरण भने विकासन्युजलाई उपलब्ध भएको छैन ।
