साढे ३ वर्षको मेहेनतले हिमालयन ८०-२० तयार पारिएको हो, २००% प्रतिफल दिने प्रक्षेपण छ : परमेश्वर पन्त

<p>हिमालयन क्यापिटल लिमिटेडले साउन ३२ गतेदेखि ‘हिमालयन ८०-२०’ म्युचुअल फण्ड योजनाको निष्काशन तथा बिक्री सुरु गरेको छ । क्यापिटलले १० वर्ष अवधिको १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड योजनाका इकाईहरु बिक्रि गर्न लागेको छ । हिमालयन ८०-२० एक बन्दमुखी योजना हो । यस योजनाको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाई बिक्रीमा रहेकोमा [&hellip;]</p>

हिमालयन क्यापिटल लिमिटेडले साउन ३२ गतेदेखि ‘हिमालयन ८०-२०’ म्युचुअल फण्ड योजनाको निष्काशन तथा बिक्री सुरु गरेको छ । क्यापिटलले १० वर्ष अवधिको १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड योजनाका इकाईहरु बिक्रि गर्न लागेको छ । हिमालयन ८०-२० एक बन्दमुखी योजना हो । यस योजनाको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाई बिक्रीमा रहेकोमा कुल बिक्रीमा रहेको इकाई मध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक हिमालयन बैंकले खरिद गरिसकेको र बाँकी र ८५ प्रतिशत अर्थात् ८ करोड ५० लाख इकाईहरु सर्वसाधारण लगानीकर्ताहरुलाई छुटयाइएको छ । हिमालयन ८०-२० योजनामा लगानीकर्ताहरुले न्यूनतम १ सय इकाई देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्ने छन् । योजनाको इकाईहरुको बिक्रि छिटोमा भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ । तोकिएको समयमा पर्याप्त आवेदन नपरेको खण्डमा भदौ १५ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । प्रस्तुत छः हिमालयन क्यापिटलले व्यवस्थापन गर्न लागेको पहिलो म्युचुअल फण्ड योजना हिमालयन ८०-२०को विषयमा आधारित भएर प्रमुख कार्यकारी अधिकृत (सीईओ) परमेश्वर पन्तसँग विकासन्युजका सम्वाददाता सीआर भण्डारीले गरेको कुराकानी :

हिमालयन ८०-२० म्युचुअल फण्ड योजना निष्काशन तथा बिक्री खुला गर्नु भएको छ, यो कस्तो प्रकारको योजना हो

हिमालयन ८०-२० म्युचुअल फण्ड योजना हिमालयन बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको र हिमालयन क्यापिटलको व्यवस्थापनमा संचालन हुन लागेको पहिलो म्युचुअल फण्ड योजना हो । बैंकिङ्ग क्षेत्रमा हिमालयन बैंक लिमिटेडको लामो इतिहास छ । हिमालयन बैंक लिमिटेडले आफ्नो स्थापनाकाल देखिनै उत्कृष्ट प्रकृतिका पूर्वाधारमा आधारित भएर आफ्ना ग्राहकहरुलाई सूचना प्रविधिको भरपुर उपयोग गर्दै नवीनतम प्रकारका सेवा तथा प्रोडक्टहरु दिईरहेको सुनौलो इतिहास छ । हिमालयन क्यापिटल लिमिटेड, हिमालयन बैंक लिमिटेड को शतप्रतिशत स्वामित्व भएको मर्चेन्ट बैंकिंग व्यवसाय गरिरहेको सहायक कम्पनी हो ।

हिमालयन क्यापिटल लिमिटेड सन् २०१९ नोभेम्बरबाट सञ्चालनमा आएको हो । कोरोना महामारीका कारण केही महिना कारोबारमा समस्या आएपनि यो संस्था निरन्तर पूँजी बजारमा काम गर्दै आएका छौं । यस समयावधिमा यस क्यापिटलले आफ्ना ग्राहकहरुको ७०/८०करोड रुपैयाँ बराबरको पोर्टफोलियोको उचित व्यवस्थापन गरिरहेको छ । यसका साथै, संस्थाले आफ्नै पुंजीबाट पनि प्रोप्राइटरी इन्भेष्टमेन्टहरु अन्तर्गत पुंजी बजारका बिभिन्न उपकरणहरुमा लगानी गरिरहेको छ ।

पूँजी बजारमा हाल सक्रिय र भविष्यमा सक्रिय हुने ईच्छा राख्ने लगानीकर्ताहरु का लागि म्युचुअल फण्ड एउटा लगानी गर्ने उत्तम उपकरण हो । म्युचुअल फण्डयोजनाहरुमा गरिने लगानीले लगानीकर्ताको पोर्टफोलियोलाई विविधिकरण गर्न सहयोग पुग्दछ । त्यसैले स्थापनाकालदेखि नै हामीले समयअनुकुल म्युचुअल फण्ड योजना बिक्रीमा ल्याउने अवधारणा बनाएका थियौं । पूँजी बजारमा म्युचुअल अन्तर्गत बिशेषत रिटेल (खुद्रा) लगानीकर्ताहरुका लागि उपयुक्त प्रकृतिको योजना डिजाईन गरि प्रडक्ट बनाउने गरी हामीले अध्ययन गरिरहेका थियौं ।

बजारमा सुरक्षित लगानी र राम्रो प्रतिफल दिने गरी ३/४ वर्षको अनुभवलाई रणनीतिक योजना बनाएर हिमालयन ८०-२० स्किम तयार पारिएको हो । यो योजना पूर्ण रुपमा तथ्याङ्कमा आधारित छ । कुन स्टकमा लगानी गर्ने र कस्तो स्टकहरु पोर्टफोलियोमा राख्ने भनेर तथ्याङ्कले निर्धारण गर्नेछ । त्यसका लागि हामीले हिमालयन ‘इक्विटी अप्टिमाइजर’ विधि तथा रणनीति विकास गरेका छौँ । हिमालयन ‘इक्विटी अप्टिमाइजर’ले नेप्सेमा सूचीकृत भएका स्टकहरुलाई ४०/५० वटा आधारभूत, टेक्निकल, र सेक्टोरल सूचांकहरुको आधारमा निश्चित अंकभार गर्नेछ । त्यो तुलना गरेपछि स्टकहरुलाई वर्गीकृत गरि तिनीहरुको रयान्किंग निस्कन्छ । सोही रयान्किंग को आधारमा स्किम म्यानेजर, इन्भेष्टमेन्ट म्यानेजमेन्ट कमिटि र रिस्क म्यानेजमेन्ट कमिटिहरुले लगानी गर्ने निर्णय गर्नेछन ।

‘इक्विटी अप्टिमाइजर’ साढे ३ वर्षको अनुभवको आधारमा तयार पारिएको प्रणाली हो । हिमालयन ८०-२० बाट संकलन भएको रकमलाई ८० प्रतिशत दिर्घकालिन लाभ सिर्जना गर्ने नियमित लाभांश दिने शेयर, निश्चित आम्दानी दिने वित्तीय उपकरण ,र ऋणपत्रहरुमा लगानी गर्नेछ त्यस्तै बाँकि बिस प्रतिशत लगानी भने अल्पकालमा उच्च लाभ सिर्जना गर्ने शेयर, निश्चित आम्दानी दिने वित्तीय उपकरण ,र ऋणपत्रहरुमा गर्नेछ ।

हामी म्युचुअल फण्ड योजना व्यवस्थापनमा मा नयाँ देखिए पनि ग्राहकहरुको लागि उनिहरुको कोषको लगानीको व्यवस्थापन गरेको अनुभव भने प्रशस्त रहेको छ । हामीले रेटिङ एजेन्सीले कोष व्यवस्थापकको रुपमा दिएको रेटिङ हेर्दा साढे ३ वर्षमा हामीले गरेको अभ्यास र हामीले प्रयोग गरेको रणनीतिलाई वहाँहरुले सकारात्मक रुपले लिएको देखिन्छ । हामीले तयार पारेको रणनीतिलाई नेप्सेको तथ्याङ्कसँग परिक्षण गरिएको छ र परिक्षण गर्दा यो रणनीतिले राम्रो प्रतिफल दिन सक्ने पुष्टि भएको छ जसलाई रेटिङ एजेन्सीले प्रकाशित रेटिङ प्रतिवेदनमा उल्लेख गरेको छ । साथै, बजार घट्दा पनि हामीले पोर्टफोलियो म्यानेजमेन्ट ग्राहकहरुलाई गत वर्ष राम्रो प्रतिफल दिन सफल भएका छौं ।

यी विभिन्न अनुभवलाई एकत्रित गरेर हिमालयन ८०-२० म्युचुअल फण्ड योजना संचालन मा ल्याउन लागेको हो । रिटेल लगानीकर्ताहरुलाई लक्षित गरी यो योजना ल्याइएको हो । हाल सञ्चालनमा रहेका अधिकांश म्युचुअल फण्ड योजनाहरुमा मा मुख्यत संस्थागत लगानीकर्ताहरुको सहभागिता धेरै छ, रिटेल लगानीकर्ताहरुहरु संख्या अपेक्षाकृत छैन । धेरैभन्दा धेरै रिटेल लगानीकर्तालाई योजनाको इकाईमा लगानी गर्न प्रेरित गर्नु हाम्रो मुख्य उद्देश्यरहेको छ । तर, अहिलेको अवस्थामा संस्थागत लगानीकर्ताले लगानी नगर्दा म्युचुअल फण्ड योजना बिकाउन गाह्रो हुन्छ भन्ने कुरा चाहिं सत्य हो । रिटेल लगानीकर्ता ल्याउन हामी जोड दिनेछौं । स्टक मार्केटमा लगानी गर्ने योजना बनाएका तर समय नभएका लगानीकर्ताका लागि म्युचुअल फण्ड सबैभन्दा उपयुक्त उपकरण हो । किनभने म्युचुअल फण्डमा प्रोफेसनल टिमले रणनीतिमा आधारित भएर लगानीको व्यवस्थापन गर्दछन ।

हिमालयन ८०-२० म्युचुअल फण्डका विशेषता के-के हुन् ?

हिमालयन ८०-२० एउटा बन्दमुखी योजना हो, यसको अवधि १० वर्ष रहेको छ । हाललाई रु १ अर्ब बराबरको इकाई जारी गर्ने भनिएपनि मागभन्दा बढि आवेदन परेको खण्डमा योजनाको आकार बढाएर अधिकतम रु १ अर्ब २५ करोड रुपैयाँसम्म सम्म पुर्याउन सकिन्छ । यो फण्ड रिटेल लगानीकर्तालाई उपयुक्त हुने गरी तयार पारिएको छ । फण्डबाट संकलन भएको रकम पूर्ण रुपमा तथ्याङ्कमा आधारित भएर लगानी गरिने छ । कुन स्टकमा लगानी गर्नु पर्छ भनेर तथ्याङ्कले नै देखाउँछ । साढे ३ वर्षको अनुभव लगाएर लगानीको रणनीति र लगानीका सहि उपकरणहरु छान्ने विधि तयार पारिएका छन् । यो स्किम ल्याउन हामीले धेरै समय खर्च गरेका छौँ र मेहेनत गरेका छौं । यस योजनाको रणनीतिली हामीले ब्याक टेस्ट गरेर हेर्दा नेप्से भन्दा बढी प्रतिफल सिर्जना हुने देखिएको थियो ।

सेयर बजार घटेर तल्लो तहमा पुगेको छ । म्युचुअल फण्डमा पनि आकर्षण कम देखिन्छ । लगानीकर्ताको मनोबल पनि घट्दो छ, यो बेला फण्ड बिक्री हुन सक्छ ?

सेयर बजार सधैं तल मात्रै जाँदैन, माथि मात्रै पनि जाँदैन । कुनै विन्दुमा ‘कन्सोली डेसन’ भएर बस्छ भने कुनै विन्दुमा ‘युफोरिया’ भएर अर्थतन्त्र सकारात्मक छ भने बजार बढ्छ । बजार घटबढ हुने चक्र सधैं चलिरहन्छ । यो चक्रका कारण माग र आपूर्तिमा असर पर्नु स्वभाविक हो ।

नेपालमा म्युचुअल फण्डबाट व्यवस्थित कोषको आकार ४२ अर्बभन्दा बढी पुगिसकेको छ । यदि म्युचुअल फण्डमा आकर्षण नहुने हो भने बजारको आकार ४२ अर्बको हुँदैनथ्यो । ५/७ वटा म्युचुअल फण्डयोजनाहरु  परिपक्व पनि भइसकेका छन् । परिपक्व भएका म्युचुअल फण्डयोजनाहरुले ३२ प्रतिशतसम्म प्रतिफल दिएका छन् । विगत हेर्दा म्युचुअल फण्ड योजनाहरुले लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सकेको प्रमाणित भएको छ । यी सबै हेर्दा म्युचुअल फण्डहरुमामा लगानीकर्ताहरुको आकर्षण बढ्दो क्रममा रहेको बुझ्न सकिन्छ ।

हो, बजार घटेको बेला लगानी गर्न लगानीकर्ताहरु डराउनुहुन्छ । त्यो डरले लगानी गर्न सक्नु हुन्न । तर, साच्चै भन्नु पर्दा लगानी गर्ने भने उपयुक्त समय बजार घटेकै बेला हो । त्यसैले हिमालयन ८०-२०  म्युचुअल फण्ड योजना  बिक्री गर्न धेरै गाह्रो नहोला । योजना सम्पूर्ण रुपमा बिक्री हुनेमा हामी विश्वस्त छौं ।

पछिल्लो समय म्युचुअल फण्डको खुद सम्पत्ति मूल्य (नेट एसेस्ट भ्यालू (न्याभ) घटेको छ । न्याभ घटेको बेला लगानीकर्ताको आकर्षण म्युचुअल फण्डमा कसरी बढ्छ ?

म्युचुअल फण्डका योजनाहरु  बिक्रि गर्ने सबैभन्दा उपयुक्त समय बुल मार्केटमा हुने गरेको देखिन्छ । नेप्से परिसूचक २५ सय अंकभन्दा बढी भएको बेला आएका म्युचुअल फण्ड योजनाहरुमा  बिकाउन सहज भएको थियो । बजार घटेर तल्लो बिन्दुमा झरेको, समग्र अर्थतन्त्रमा समस्या परेको, तरलता अभाव कायम रहेको र बैंकहरुमा कर्जाको माग नभएकाले अहिले योजना बिकाउन सहज नहोला । तर, हामीले निकालेको योजना  बिक्री गर्न आवश्यक पूर्व तयारी सबै गरेका छौं । योजनाको बारेमा लगानीकर्ताहरुलाई जानकारी गराउने देखि सचेतना गराउने सबै काम गरेका छौं ।

म्युचुअल फण्ड योजनाहरुले बजार घट्यो भन्दैमा सबै लगानी बिक्री गरेर क्यासमा बस्न मिल्दैन  । किनभने म्युचुअल फण्ड योजनामा गरेको लगानी दिर्घकालिन प्रकृतिको योजना हो । बजार घटेको बेलामा राम्रोसँग चलेको म्युचुअल फण्ड योजनाहरुको पनि निश्चित प्रतिशत न्याभमा गिरावट आएको देखिन्छ । त्यसरी गिरावट आउँदा न्याभ १० रुपैयाँभन्दा कम र बढी पनि हुन सक्छ । तर,योजना कसरी सञ्चालन भइरहेको छ भन्ने आधारमा कति गिरावट आउला भनेर निर्भर हुन्छ । न्याभ घटेका म्युचुअल फण्ड योजनाका इकाईहरु १० रुपैयाँ भन्दा कममा पाउन सकिन्छ  । यसको मतलब उसको एसेटको भ्यालू पनि कम नै  हुन्छ । सस्तो मूल्यमा फण्डको इकाईहरु  पाइन्छ भनेर भन्न नमिल्ला किनभने । यदि हिमालयन म्युचअल फण्ड १० रुपैयाँमा किन्नु हुन्छ भने त्यसको भ्यालू पनि १० रुपैयाँ नै हो ।

कसैले बढेको बेला म्युचुअल फण्ड खरिद गर्नुपर्छ भन्नुहुन्छ भने कसैले घटेको बेला खरिद गर्नुपर्छ भन्नुहुन्छ । यस बिषयमा आम लगानीकर्ताहरुलाई तपाईंहरुको सुझाब के रहेको छ ?

बजार घटेको बेलामा र बजारमा चरम निराशा देखिए बेलामा (डिस्ट्रेसमा) लगानी गर्दा हासिल हुने प्रतिफल तुलनात्मक रुपले उच्च भएको दृष्टान्त रहेको छ । यदि दीर्घकालिन लगानी गर्ने हो भने उपयुक्त समय नै बजार न्युनतम बिन्दुमा स्थापित भएको बेलामा हो । किनभने बजार घटेको संयम पुंजी बजारका उपकरणहरु सस्तो मुल्यमा उपलब्ध हुन्छन । बजारमा लगानीको बातावरण र बजारमा रहेको मागका आधारमा म्युचुअल फण्ड योजना जारी गर्ने हो । । साथै, म्युचुअल फण्डका योजनाहरुको बारेमा लगानीकर्ताहरु जानकार हुनुहुन्छ भने लगानीकर्ताहरुले खरिद गर्नु नै हुनेछ।

हिमालयन ८०-२० म्युचुअल फण्डले कुन-कुन क्षेत्रमा लगानी गर्छ ?

योजनाले नेपाल धितोपत्र बोर्डले अनुमति दिएका क्षेत्रहरुमा लगानी गर्ने हो । सेयर बजारमा सूचीकृत कम्पनीहरु, बण्ड, डिबेन्चरमा लगानी गर्ने हो । त्यस्तै, बैंकको मुद्दती निक्षेपमामा पनि योजनाले लगानी गर्नेछ । साथै, धितोपत्र बोर्डले दिएका परिधिभित्र रहेर सरकारी ऋणपत्रहरुमा पनि लगानी गर्न सक्नेछ ।

हिमालयन ८०-२० म्युचुअल फण्डले कमाएको नाफाबाट इकाईधनीहरुलाई कतिसम्म प्रतिफल दिन सक्छ ?

हामीले राष्ट्रको समस्त अर्थतन्त्रलाई मध्यनजर राख्दै विभिन्न अनुमानहरुका का आधारमा योजनाबाट १० वर्षमा इकाईधनीहरुले २ सय प्रतिशत सम्म प्रतिफल पाउने प्रक्षेपण गरेका छौं । यदि अनुमानहरु पुरा भएको खण्डमा प्रक्षेपण गरेजति प्रतिफल इकाईधनीहरुलाई दिन सक्छौं भन्ने हाम्रो अनुमान रहेको छ । अबको १० वर्षमा वित्तीय संस्थाहरु बाट प्रवाह हुने कर्जा, मुद्रस्फृतिको डर र ,ब्याजदर लगायतका बिषयमा हामीले गरेका अनुमानहरुको आधारमा हामीले प्रतिफलको प्रक्षेपण गरेका छौं । हामीले औसतमा वार्षिक २० प्रतिशत र योजना अवधिभरमा २ सय प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेका छौं ।

बजार उच्च हुँदा म्युचुअल फण्डले शतप्रतिसम्म लाभांश वितरण गरे । बजार घटेको बेला लाभांश नै वितरण गरेनन् । त्यसैले पनि बजार बढेको बेला लगानी गर्नुपर्छ भन्ने मानसिकता छ नि ?

सामान्यतया कुनै पनि संस्थाको योजना मा लाभांश सम्बन्धि नीति स्थिर हुनुपर्छ, यद्दपी स्थिर लाभांश नीतिनै मात्र हुनुपर्छ भन्ने छैन, योजनाहरुले आफ्नो उद्देश्य अनुसार लाभांश वितरण गर्न सक्नुहुन्छ । बजारमा उतारचढावहरु भइरहन्छ, कुनै वर्ष बढी कमाई हुन्छ, कुनै वर्ष कम । किनभने म्युचुअल फण्डले अन्ततः सेयर बजारमा नै लगानी गर्ने हो, र यसले सिर्जना गर्ने प्रतिफल सेयर बजारले दिने रिटर्नमा आधारित हुने भएकोले एउटा स्थिर लाभांश नीति अपनाएमा न्याभ मेन्टेन गर्न भने मद्दत पुग्छ । जस्तो कुनै वर्ष १ सय प्रतिशत कमाएको छ भने ५० प्रतिशत मात्रै प्रतिफल बाँडेर ५० प्रतिशत पुनः लगानी गर्ने हो भने भोलि बजार घटेको बेलामा न्याभ धेरै तल नजाने सम्भावना प्रबल हुन्छ ।

हिमालयन ८०-२० फण्डले जति नै कमाएपनि पहिलो वर्ष लाभांश वितरण नगर्ने योजना बनाएका छौं । दोस्रो वर्षदेखि लाभांश वितरण गर्ने योजना छ । पहिलो २ वर्ष १० प्रतिशत र त्यसपछि १२ प्रतिशत वितरण गर्ने योजना छ । त्यसपछि ३ वर्ष १५ प्रतिशत र २ वर्ष २० प्रतिशत प्रतिफल वितरण गर्छौं । फण्डले बढी कमायो भन्दैमा बढी प्रतिफल बाँड्दैनौं । बरु त्यो पैसालाई बजारमै पुनः लगानी गर्छौं ।

नेपाल धितोपत्र बोर्डले म्युचुअल फण्डमा दिएको कोटा हटाउने तयारीमा छ । त्यसो गर्दा उपयुक्त हुन्छ?

म्युचुअल फण्ड रिटेल लगानीकर्ताका लागि हो । रिटेल लगानीकर्ताहरुलाई आकर्षित गर्नु पर्ने देखिन्छ । ४२ अर्बको म्युचुअल फण्डको बजार हुँदा पनि रिटेलभन्दा पनि संस्थागत लगानीकर्ताहरुको लगानी नै यो क्षेत्रमा धेरै छ जबकी म्युचुअल फण्ड बास्तवमा रिटेल लगानीकर्ताहरुको लागि सर्वोचित लगानी उपकरण हो । म्युचुअल फण्डमा लगानी बढ्नु भनेको रिटेल लगानीकर्ताहरुको सक्रियता बढ्नु होजसले पूँजी बजारको दायरामा वृद्धि हुन्छ । यसले नियामकहरुको नीति अनुसारनै बजारमा सहभागिता बढाउने काम गर्नेछ । अहिले ५ प्रतिशत आरक्षण को शेयरहरुहरुबाट सिर्जित अतिरिक्त लाभ पनि अन्तत योजनाका लगानीकर्ताहरुले नै पौने हो, कोष व्यवस्थापक ले होइन । जसले योजनामा लगानी गर्छ उसले नै फाइदा लिने हो । त्यसैले लगानीकर्ताहरुले पाउने लाभ घट्ने भन्दा पनि बढ्ने किसिमका नीतिहरु आएमा बजारमा अझ सकारात्मकताको संचार हुने थियो ।

सांचै भन्ने हो भने अब यो ५ प्रतिशतको आरक्षण बरु जाको परिवेशमा कम देखिन थालेको थालेको छ । बजारमा थोरै संख्यामा म्युचुअल फण्ड योजनाहरु संचालनमा हुँदा ५ प्रतिशत आरक्षणको व्यवस्था गरिएको थियो । आजको दिनमा म्युचुअल फण्ड योजनाहरुको संख्या धेरै गुना बढि सकेको छ र अझै धेरै म्युचुअल फण्ड योजनाहरु संचालनमा आउने तयारीमा छन् । त्यसैले अब यो ५ प्रतिशतको सीमा बढाएर १० प्रतिशत वा अझै धेरै बनाउन सकेमा राम्रो हुनेथ्यो भन्ने मेरो धारणा रहेको छ । बरु आरक्षणमा जुन सेयर खरिद गरिन्छ सो शेयरहरुलाई एउटा निश्चित मापदण्ड अनुसार किनबेच गर्ने व्यवस्था गरेको खण्डमा राम्रो हुने थियो । म्युचुअल फण्डहरु का पनि कमीकमजोरी होलान् तर फण्डहरुले पूँजी बजारलाई सपोर्ट भने गरेका छन । तसर्थ नियमनको दायरालाई वृद्धि गर्दै म्युच्युअल फण्डमा निश्चित रकम लगानी गर्दा करमा छुट हुने जस्ता प्रावधानहरु आएको खण्डमा लगानीकर्ताहरुमा उत्साहको सिर्जना भई बजारको बिकाशमा अझै टेवा पुग्ने थियो । । त्यसैले अब आउने नीति अझै म्युचुअल फण्ड मैत्री बनाउनु पर्ने आवश्यकता रहेको छ ।

म्युचुअल फण्डको लगानीको दायरा बढाउन जरुरी छ ?

निकट भविस्यमा लगानी गर्ने क्षेत्रका आधारमा म्युचुअल फण्ड योजना ल्याउन सकिन्छ । दायरा बढाउने भन्दैमा सबै म्युचुअल फण्ड योजनाहरुलाई सबै क्षेत्रमा लगानी गर्न दिनु पर्छ भन्ने होइन तर बिशिष्टकृत प्रकृतिका म्युचुअल फण्डयोजना हरलाई निश्चित क्षेत्र तोकिएर लगानी गर्ने अवसर हुनुपर्छ जसको लागि नियमकिय व्यवस्थामा पनि प्रावधानहरु छन् । जनताको पैसा लगानी भएकाले स्वतन्त्र वा खुला पनि छाड्नु हुँदैन । नियमन गर्नु पर्ने आवश्यक हुन्छ । अब म्युचुअल फण्डलाई रियल सेक्टर, टेक सेक्टर, सुन लगायतका क्षेत्रमा लगानी गर्न पाउने गरी विशेष फण्ड जारी गर्न दिनु पर्छ ।

समग्रमा  म्युचुअल फण्डहरुको भविष्य कस्तो देख्नु भएको छ ?

म्युचुअल फण्डहरुको भविष्य उज्वल छ । किनभने आजको दिनमा जति पनि लगानीकर्ताहरुले म्युचुअल फण्ड योजनाहरु मा लगानी गरेका छन्, त्यो भनेको बजारको सानो हिस्सा मात्र हो । नेपालको पुंजी बजारमा ५०-६० लाख डिम्याट खाताधारी भएपनि अधिकांश लगानीकर्ताहरु आईपीओमा १० कित्ता मात्रै लगानी गर्छन्, दोस्रो बजारमा कारोबार नै गर्दैनन् । सक्रिय लगानीकर्ता त झन् १०/१५ लाख मात्रै होलान् । देशको जनसंख्या उल्लेख्य तप्का त दोस्रो बजारमा प्रवेशनै गरेका छैनन् । नेपालमा कुल बैंक खाताको संख्या नै डेढ/दुई करोडभन्दा बढी छन, एउटी बाणिज्य बैंकमा न्यूनतम ५ लाख जना निक्षेपकर्ता होलान । उहाँहरु पुंजी बजारमा प्रवेश गर्नु नै भएको छैन , वहाँहरुले म्युचुअल फण्डहरुमा लगानी गर्नुनै भएको छैन । भोलिका दिनमा पुंजी बजार प्रति ती ग्राहकहरु निक्षेपपछि म्युचुअल फण्डमा आउनु हुन्छ ।

भारतमा १५/२० वर्षअघि जम्मा ६/७ खर्ब बराबर रहेको म्युचुअल फण्डको बजार अहिले ४६ खर्ब भारु पुगेको छ । जसरी बजार विकास हुँदै जान्छ लगानीकर्ताहरु पनि क्रमश बजार प्रवेश गर्दै जानुहुन्छ । नेपालको म्युचुअल फण्डको बजार बिकासको प्रारम्भिक चरणमा छ । आगामी दिनमा बजारमा खुलामुखी म्युचुअल फण्ड योजनाहरुको संख्या बढ्दै जाँदा बन्दमुखी म्युचुअल फण्ड योजनाहरुको संख्या क्रमश कम हुँदै जाने छ जुन हाल अन्तर्राष्ट्रिय बजारमा देखिएको योजनाहरुको समिश्रण ले प्रतिबिम्बित गरिनै रहेको छ । त्यसैले नेपालमा पनि पुंजी बजारको ग्रोथ भइरहेको हुँदा म्युच्युअल फण्डहरुको भविष्य उज्वल छ ।

Share News