काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारको परिवार नै कालोसूचीमा परेको छ । कर्जा सूचना केन्द्रले उनको परिवारका विभिन्न सदस्यलाई कालोसूचीमा राखेको हो ।
राजकर्णिकारले जग्गा खरिद गरेर खातामा मौज्दात नभएको चेक काटेर दिएका थिए । उनले पछि सोही जग्गा नबिल बैंकमा धितो राखेर ऋण लिएको पनि बुझिएको छ । उनले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (तत्कालीन मेगा) को चेक अनादर गरेपछि कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको बुझिएको छ ।
उनीसँगै उनको छोरा समृद्धि राजकर्णिकार र प्रदिता राजकर्णिकार पनि कोलोसूचीमा परेका छन् । उनीहरुले पनि फुड प्रोजेक्ट नामक कम्पनीको नाममा लिएको ऋण नतिरेपछि कालोसूचीमा परेको बुझिएको छ ।
यस्तै, कर्जा नतिरेको भन्दै सहकारीले पनि उनको सम्पत्ति लिलाम गर्न खोज्दैछ । ललितपुरमा रहेको लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्थाले भाष्करराज राजकर्णिकार र उनको छोरीको नाममा रहेको सम्पत्ति लिलामी गर्ने सूचना सार्वजनिक गरिसकेको छ ।![]()
भाष्कर र समृद्धि राजकर्णिकारले लिएको कर्जा समयमा नै नतिरेको भन्दै सहकारीले दुवै जनाको सम्पत्ति लिलाम बिक्री गर्न ३५ दिने सूचना निकालेको छ । राजकर्णिकारले एभिन्यूज नेटवर्क्स प्रालिको नाममा लिएको कर्जा नतिरेपछि सम्पत्ति लिलाममा राख्ने जनाएको छ ।
यस्तै, सहकारीले भाष्कर राज राजकर्णिकारको नाममा रहेको भरतपुर नगरपालिका–७ मा रहेको कित्ता नम्बर ३०५८ मा रहेको १० कठ्ठा, भतरपुर नगरपालिका- २३ मा रहेको कित्ता नम्बर १३२ र ७४० को १ बिघा, ११ कठ्ठा र २ बिघा जग्गा लिलामी गर्ने जनाएको छ भने समृद्धि राजकर्णिकारको नाममा मालपोत कार्यालय चाबहिलमा दर्ता रहेको बुढानीलकण्ठ नगरपालिका–३ मा रहेको कित्ता नम्बर ३२२ मा रहेको २ रोपनीमा रहेको घर जग्गा लिलामी गर्ने भएको हो ।