काठमाडौं । मंगलबार कुमारी बैंकको २८ करोड ५९ लाख रुपैयाँ बराबरको संस्थापक (प्रमोटर) सेयर बिक्री भएको छ । एकैदिन बैंकको २५ लाख ३० हजार २६२ कित्ता प्रमोटर सेयर प्रतिकित्ता ११३ रुपैयाँमा किनबेच भएको हो ।
सो दिन ब्रोकर नम्बर ४ (ओपल सेक्युरिटिज), ब्रोकर नम्बर ४९ (अनलाइन सेक्युरिटज प्रा.लि), ब्रोकर नम्बर ५८ (नासा सेक्युरिटज कम्पनी), ब्रोकर नम्बर ५९ (दिब्या सेक्युरिटज प्रा.लि) मार्फत बैंकको सो मात्राको प्रमोटर सेयर खरिद बिक्री भएको हो । सम्बन्धित स्रोतका अनुसार उक्त सेयर एमएस ग्रुपबीच आन्तरिक कारोबार भएको हो । उक्त सेयर एउटा संस्थापकले अर्को संस्थापकलाई बेचेको उक्त स्रोतले विकासन्युजलाई बतायो ।
दिनभरमा बैंकको ५ वटा कारोबारमा २५ लाख ३० हजार २६२ कित्ता संस्थापक सेयर किनबेच भएको छ । सोमध्ये पहिलो कारोबारमा ४४ हजार ९२७ कित्ता सेयरको बिक्री ४९ नम्बर ब्रोकरबाट भएको छ भने ५९ नम्बर ब्रोकरबाट खरिद भएको छ । त्यस्तै, दोश्रो कारोबारमा ब्रोकर नम्बर ५८ ले ब्रोकर नम्बर ४ बाट ६ लाख कित्ता सेयर किनेको छ ।
तेश्रो कारोबारमा पनि ब्रोकर नम्बर ५८ ले ब्रोकर नम्बर ४ बाटै पुनः ६ लाख ४० हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । र, चौथो र पाँचौ कारोबारमा क्रमशः ६ लाख र ६ लाख ४५ हजार ३३५ कित्ता सेयर किनबेच भएको देखिन्छ । उक्त सेयरको बिक्री ब्रोकर नम्बर ५८ बाट भएको छ भने खरिद ब्रोकर नम्बर ४ बाट भएको देखिन्छ ।