काठमाडौं । मंगलबार जस्तै बुधबारको सेयर बजारमा पनि हरियाली छाएको छ । सो दिनको बजारमा कारोबारमा आएका सबै समूह सूचकमा हरियाली छाएको छ ।
बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । सो दिन सेयर मूल्य मापक नेप्से परिसूचक २९.४७ अंकले बढेर २०४५.४५ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.४६ प्रतिशतले बढी हो ।
त्यस्तै, बजारमा एक अर्ब ५१ करोड ४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा १८ करोड रुपैयाँले बढेको छ । मंगलबारको बजारमा १ अर्ब ३३ करोडको सेयर कारोबार भएको थियो ।
२७३ स्क्रीप्सको कारोबार भएको बजारमा घोराही सिमेन्ट इन्डष्ट्रीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ७ करोड ५७ लाख ६५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता ५१० रुपैयाँमा भएको छ ।
त्यस्तै, तीन कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । कुथेली भुखारी स्मल हाइड्रोपावरको ९.९९ प्रतिशतले, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को इकाई मूल्य ९.६४ प्रतिशतले र लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्य ९.४५ प्रतिशतले बढेको छ ।
बजारमा सबैभन्दा बढी सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाइ मूल्य ७.४२ प्रतिशतले घटेको छ ।