१० बीमा कम्पनीले हकप्रद जारी गर्न पाउने, कसको पुँजी कति पुग्छ ?

<p>काठमाडौं । जीवन र निर्जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीमध्ये १० वटा कम्पनीले हकप्रद सेयर जारी गर्ने भएका छन् । नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएसँगै जीवन बीमातर्फको ५ र निर्जीवन बीमा तर्फको ५ गरी कूल १० वटा बीमा कम्पनीले हकप्रद सेयर जारी गर्न पाउने भएका हुन् । यसअघि नै दुई वटा कम्पनीलाई हकप्रद सेयर जारी [&hellip;]</p>

काठमाडौं । जीवन र निर्जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीमध्ये १० वटा कम्पनीले हकप्रद सेयर जारी गर्ने भएका छन् । नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएसँगै जीवन बीमातर्फको ५ र निर्जीवन बीमा तर्फको ५ गरी कूल १० वटा बीमा कम्पनीले हकप्रद सेयर जारी गर्न पाउने भएका हुन् ।

यसअघि नै दुई वटा कम्पनीलाई हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको प्राधिकरणले हालै मात्र ४ वटा जीवन बीमा कम्पनी र ४ वटा निर्जीवन बीमा कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न दिने निर्णय गरेको हो । उक्त निर्णय भदौ ६ गते बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले गरेको हो ।

सो निर्णयअनुसार जीवन बीमा तर्फका सूर्यज्योति लाइफ, प्रभु महालक्ष्मी लाइफ, सानिमा रिलायन्स लाइफ र एशियन लाइफ छन् । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले भने यसअघि नै ८६ प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको थियो ।

यता निर्जीवन बीमा व्यवसाय गर्दै आएका हिमालयन एभरेष्ट, नेको, सानिमा जीआईसी, यूनाइटेड अजोड र एनएलजी इन्स्योरेन्सले हकप्रद निष्काशन गर्न प्राधिकरणको स्वीकृति पाएका छन् । यीमध्ये एनएलजीले भने गत असारमै ६६ प्रतिशत हकप्रद जारी गर्न स्वीकृति पाएको थियो ।

जीवन बीमा कम्पनीले १० देखि ८६ प्रतिशतसम्म जारी गर्न पाउने, कसले कति ?

जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीको चुक्ता पुँजी न्यूनतम ५ अर्ब रुपैयाँ हुनु पर्ने छ । सो अनुसारको पुँजी पुर्याउन अधिकांश कम्पनी मर्जरमा गए । मर्जरमा गएता पनि उनीहरुको पुँजी तोकिएबमोजिमको नभएकोले बीमा प्राधिकरणले केही कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको छ । कम्पनीले मर्जरमा गएका र नगएका गरी ५ वटा कम्पनीलाई १० देखि ८६ प्रतिशतसम्म हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको छ ।

सूर्यज्योति लाइफलाई १० प्रतिशत हकप्रद

बीमा प्राधिकरणको निर्णय अनुसार सूर्यज्योति लाइफ इन्स्योरेन्सले १० प्रतिशत हकप्रद सेयर जारी गर्न पाउने छ । साविकको सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स मर्ज भई बनेको सूर्यज्योति लाइफले तोकिएको न्यूनतम चुक्ता पुँजी पुर्याउन सो मात्राको हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ छ । स्वीकृति १० प्रतिशत हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब नाघ्ने छ । जुन बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजी बमोजिम हो ।

प्रभु महालक्ष्मीलाई १७ प्रतिशत

प्रभु महालक्ष्मीले १७ प्रतिशत हकप्रद सेयर जारी गर्न प्राधिकरणको स्वीकृति पाएको छ । हालै प्रभु र महालक्ष्मी लाइफ मर्ज भइ बनेको प्रभु महालक्ष्मीको चुक्ता पुँजी ४ अर्ब २९ करोड ९६ लाख रुपैयाँ बढी छ । १७ प्रतिशत हकप्रदपछि उक्त पुँजी बढेर ५ अर्ब २ करोड ६३ लाख रुपैयाँ नाघ्ने छ ।

सानिमा रिलायन्सलाई २० प्रतिशत

साविकको सानिमा लाइफ र रिलायन्स लाइफ मर्ज भई बनेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न स्वीकृति पाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ छ । स्वीकृत २० प्रतिशत हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी अर्ब बढी अर्थात ५ अर्ब २ करोड ८ लाख रुपैयाँ पुग्ने छ । जुन प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा बढी हो ।

एशियन लाइफले सबैभन्दा बढी जारी गर्ने

नेपालका जीवन बीमा कम्पनीमध्ये एशियन लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी प्रतिशत हकप्रद जारी गर्न पाउने भएको छ । प्राधिकरणले कम्पनीलाई ४२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको हो । हाल ३ अर्ब १५ करोड ५३ लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी ४२ प्रतिशत हकप्रदपछि ४ अर्ब ४८ करोड ५ लाख रुपैयाँ पुग्ने छ । जुन बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजीभन्दा कम हो । अपुग पुँजी भने कम्पनीले बोनस सेयर मार्फत पुर्याउने योजना बनाएको छ ।

एलआईसी नेपाललाई ८६ प्रतिशत

भारतको जोइन्ट भेञ्चर कम्पनी एलआईसी नेपालले सबैभन्दा बढी अर्थात ८६ प्रतिशत हकप्रद निष्काशन गर्न बीमा प्राधिकरणको स्वीकृति पाएको छ । सो मात्राको हकप्रद सेयर जारी पश्चात कम्पनीको चुक्ता पुँजी ४ अर्ब ९३ करोड ४९ लाख रुपैयाँ पुग्ने छ । जुन तोकिएको न्यूनतम पुँजीभन्दा कम हो ।

निर्जीवन बीमा कम्पनीलाई १२ देखि ६६ प्रतिशतसम्म हकप्रद

बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ । सोअनुसार पुँजी पुर्याउन प्राधिकरणले केही कम्पनीहरुलाई १२ देखि ६६ प्रतिशतसम्म हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको छ ।

हिमालयन एभरेष्टलाई १२ प्रतिशत

नेपालको बीमा क्षेत्रमै पहिलो पटक मर्ज भइ इतिहास राखेको हिमालयन एभरेष्टले १२ प्रतिशत हकप्रद निष्काशन गर्न स्वीकृति पाएको छ । मर्जरमा जाँदा जाँदै पनि तोकिएको न्यूनतम पुँजी नपुगेको भन्दै कम्पनीले प्राधिकरणलाई सो मात्राको हकप्रद निष्काशन गर्न अनुमति दिएको हो । यससँगै हाल २ अर्ब ३० करोड १५ लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी १२ प्रतिशत हकप्रदपछि २ अर्ब ५७ करोड ७७ लाख रुपैयाँ पुग्ने छ ।

नेकोलाई २५ प्रतिशत हकप्रद

मर्जरमा नगएको नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न बीमा प्राधिकरणको स्वीकृति पाएको छ । सो अनुसार कम्पनीले हकप्रद सेयर जारी गरेमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५४ लाख रुपैयाँ नाघ्ने छ । जुन प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा बढी हो । यससँगै कम्पनीले हकप्रदबाट मात्रै तोकिएको पुँजी पुर्याउने भएको छ ।

सानिमा जीआईसीलाई पनि २५ प्रतिशत

बीमा प्राधिकरणले मर्ज भइ बनेको सानिमा जीआईसी इन्स्योरेन्सलाई २५ प्रतिशत हकप्रद निष्काशन गर्न स्वीकृति दिएको छ । हाल २ अर्ब रहेको कम्पनीको चुक्ता पुँजी २५ प्रतिशत हकप्रदपछि २ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ । जुन प्राधिकरणले तोकेको न्यूनतम पुँजी हो ।

यूनाईटेड अजोडले ३२ प्रतिशत निष्काशन गर्न पाउने

हालै दुई कम्पनी मर्ज भइ बनेका यूनाईटेड अजोड इन्स्योरेन्सले ३२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न स्वीकृति पाएको छ । जसको हालको चुक्ता पुँजी एक अर्ब ९० करोड रुपैयाँ छ । स्वीकृति ३२ प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ ।

एनएलजीलाई सबैभन्दा बढी

मर्जरमा नगएको एनएलजी इन्स्योरेन्सले निर्जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी प्रतिशत हकप्रद सेयर जारी गर्न पाउने भएको छ । बीमा प्राधिकरणले कम्पनीलाई गत असारमै ६६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको हो । उक्त हकप्रदलाई गत साउनमा सम्पन्न कम्पनीको विशेष साधारण सभाले समेत पारित गरिसकेको छ । हाल १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी ६६ प्रतिशत हकप्रद पछि २ अर्ब ४२ करोड २३ लाख रुपैयाँ पुग्ने छ । जुन बीमा प्राधिकरणले तोकेको भन्दा कम हो ।

तीन कम्पनीको पुँजी नपुग्ने

बीमा प्राधिकरणले हकप्रद सेयरको लागि स्वीकृति दिँदा पनि तीन कम्पनीको चुक्ता पुँजी नपुग्ने भएको छ । जीवन तर्फका दुई र निर्जीवन तर्फका एक कम्पनी गरी तीन कम्पनीले हकप्रद जारी गर्दा पनि प्राधिकरणले तोकेको न्यूनतम पुँजी नपुग्ने देखिएको हो । हालको पुँजीमा हिसाव गर्दा एशियन लाइफ, एलआईसी नेपाल र एनएलजी इन्स्योरेन्सको चुक्ता पुँजी तोकिएको भन्दा थोरै कम्पनी हुने भएको हो । उक्त अपुग पुँजी बोनस सेयर मार्फत पुर्याउन सक्ने देखिन्छ ।

Share News