काठमाडौं । भृकुटीमण्डपमा नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अप्लायन्स तथा नेपाल ईभी अन्तरराष्ट्रिय प्रदर्शनी हुने भएको छ।
मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, एक्जीबीसन एंड ट्रेड सर्विसेस इंडिया तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याकचरर एण्ड इम्पोर्टरस एस्सोसिएसन अफ नेपाल को सयुक्त आयोजनामा यही भाद्र १५, १६ र १७ गते काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनी आयोजना हुन लागेको हो।
आयोजकका अनुसार आफ्नै मुलुकमा बढ्दो उत्पादित जल विद्युतको विभिन्न विद्युतीय माध्यमहरूबाट उपभोग बढाई देशलाई आर्थिक रुपमा सबलीकरण गर्दै लान एवं ऊर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा अत्यधिक टेवा पुर्याउने उद्देश्यका साथ यस प्रर्दशनीको आयोजना हुने छ।
उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढि कम्पनीहरूको स्टल रहने छन्। विद्युतीय सवारीलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामग्रीहरूको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तराष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्द्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएका छन्।
यस प्रदर्शनीमा विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, विद्युतीय साइकल तथा रिक्सा, चारजिङ स्टेसन, ब्याट्री, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीचहरू, एलिडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरूको सहभागिता रहनेछ।
राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रबिधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रबर्द्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धीहरू बारे सूचना आदान प्रदान गर्ने तथा उपभोक्ता वर्गमा ऊर्जाको व्यवस्थित खपतको महत्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पुऱ्याउने लक्ष्य यस संस्करणको रहेको आयोजकले जनाएका छन्।
तीन दिने यस प्रर्दशनीको भदौ १५ गते बिहान ११;०० बजे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतबाट उद्घाटन हुने कार्यक्रम रहेको छ।