काठमाडौं । साउन महिनामा मात्रै एक अर्ब २१ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर दर्ता भएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार चालु आर्थिक वर्ष लागेयता तीन लघुवित्त र एक इन्भेष्टमेन्ट क्षेत्रको सो मात्राको सेयर दर्ता भएको हो ।
जसमा सूर्योदय वोमी लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, सामूदायिक लघुवित्त वित्तीय संस्था र नागरिक लगानी कोष रहेका छन् । समीक्षा अवधिमा यी कम्पनीको १ करोड २१ लाख ७५ हजार ४७७ कित्ता बोनस सेयर धितोपत्र बोर्डमा दर्ता भएको हो ।
सबैभन्दा बढी बोनस सेयर सूचीकृत हुनेमा नागरिक लगानी कोष छ । कोषको २५ प्रतिशत अर्थात १ करोड ६ लाख २७ हजार ५ सय कित्ता सेयर दर्ता भएको छ । जुन रकमको आधारमा एक अर्ब ६ करोड २७ लाख ५० हजार रुपैयाँ हो ।
त्यस्तै, सूर्योदय वोमी लघुवित्तको ११ करोड ८७ लाख रुपैयाँ बराबरको १५ प्रतिशत अर्थात ११ लाख ८७ हजार कित्ता बोनस सेयर दर्ता भएको छ ।
जाल्पा सामुदायिक लघुवित्तको पनि १४.२५ प्रतिशत बोनस सेयर बोर्डमा दर्ता भएको छ । संस्थाको २ करोड २८ लाख रुपैयाँ बराबरको २ लाख २८ हजार कित्ता सेयर दर्ता भएको छ ।
त्यसैगरी, सामूदायिक लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत सेयर दर्ता भएको छ । बोर्डमा संस्थाको १ करोड ३२ लाख रुपैयाँ बराबरको एक लाख ३२ हजार कित्ता सेयर दर्ता भएको हो ।
बोर्डका अनुसार यी चार वटै कम्पनीको आर्थिक वर्ष २०७८/७९ को बोनस सेयर दर्ता भएको हो । यी कम्पनीले चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा दुई वर्ष अघिको बोनस सेयर दर्ता गरेका हुन् ।