
काठमाडौं । सेयर बजारमा साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक २८.९२ अंकले घटेर बजार बन्द भएको छ ।
बिहीबारको कारोबारबाट नेप्से १९३२ विन्दुमा झरेको छ । पछिल्लो केही दिन यता सेयर बजार उच्च अंकले आरोला लागिरहेको छ ।
बिहीबार २७६ कम्पनीको ३२ हजार १३९ पटकको कारोबारमा ३७ लाख ६९ हजार कित्ता सेयर खरिद बिक्रीबाट एक अर्ब १५ करोड बराबरको कारोबार भएको छ । यो मंगलबारको बजारमा भएको कारोबार भन्दा बढी रकम हो । बुधबार भने सार्वजनिक विदा परेको कारण बजार बन्द थियो ।
बिहीबार शुभम पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरी, थ्रीस्टार हाइड्रोपावरको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ ।
बिहीबार कारोबार रकमका आधारमा लिबर्टी इनर्जी शीर्ष स्थानमा रहेको छ । त्यसैगरी, सोल्टी होटलको ४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
बिहीबार १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.५२ प्रतिशत घटेको छ ।
त्यस्तै, अन्य उपसमूहको परिसूचक २.०४ प्रतिशत घटेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।