
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा राष्ट्र बैंकको नीतिको कारण परेको प्रभावका बारेमा अध्ययन गरिरहेको बताएका छन् ।
बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोउत्तरको जवाफमा अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
मन्त्री डा. महतले भने, ‘राष्ट्र बैंकको नियमन बाट परेको प्रभावका विषयमा आवश्यक संवाद गरिरहेका छौं । हामी चाहन्छौं सेयर कारोबारले सहज रुप लियोस् । लगानी डुब्न नपाओस् । त्यसप्रति सरकार गम्भिर छ ।’
सेयर लगानीकर्ताले भने राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको १२ करोडको सीमा हटाउनुपर्ने माग गरिरहेका छन् ।
राष्ट्र बैंकले मौद्रिक नीति ल्याए यता नेप्से परिसूचक करिब ३०० अङ्कले घटेको छ ।
अर्थमन्त्री डा. महतले सेयर बजारलाई प्रभावित गर्न खोज्नेहरुको बारेमा निगरानी गरिरहेको बताए ।
‘केही व्यक्तिहरुले सेयर कारोबारमा मेनुपुलेसन गर्न नपाउन, इन्साइडर टे«डिङ गर्न नपाउन र सूचना चुहाएर सेयर बजार प्रभावित गर्न नपाउन भन्ने बारेमा सरकारले निगरानी गरिरहेको छ’, मन्त्री महतले भने ।
पूर्णकालिन व्यवसायीको रुपमा लगानी गर्ने र कसैले बचेको पुँजी सेयर बजारबाट आम्दानी हुन्छ भन्ने आशयले गरेको लगानीलाई सरकारले अनुचित मान्न नसक्ने मन्त्री महतले बताए ।
अन्य पेशा व्यवसायका मानिसहरुले सेयर कारोबार गरेर मूल्य घट्यो र आत्महत्या गर्ने तहमा पुग्यो भन्ने निष्कर्षमा पुग्न नहुने महतले बताए ।