काठमाडौं । गत भदौमा ९ हजार बढीले जीवन बीमापोलिसी त्याग अर्थात समर्पण गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार १४ कम्पनीका कूल ९ हजार ३८६ जना बीमितले समय अगावै बीमा पोलिसी त्याग गरेका छन् ।
जुन अघिल्लो वर्ष अर्थात २०७९ को भदौको तुलनामा बढी हो । २०७९ भदौमा ८ हजार ५२ जना बीमितले बीमा पोलिसी सरेन्डर गरेका थिए ।
बीमा पोलिसी त्याग गर्नेको संख्यासँगै रकम पनि बढेको तथ्यांकले देखाउँछ । २०७९ भदौमा एक अर्ब १४ करोड ८३ लाख रुपैयाँ समर्पण भएकोमा २०८० भदौमा भने एक अर्ब १८ करोड २० लाख रुपैयाँ रकम बीमा क्षेत्रबाट बाहिरिएको छ । जुन प्रतिशतको आधारमा २.९० प्रतिशतले बढी हो ।
सञ्चालनमा रहेका १४ कम्पनीमध्ये ७ वटा कम्पनीको बीमा पोलिसी सरेन्डरद्धर घटेको छ भने बाँकी ७ वटाको बढेको छ ।
प्रतिशतको आधारमा सिटिजन लाइफ इन्स्योरेन्सबाट सबैभन्दा बढी रकम बाहिरिएको छ । २०७९ भदौको तुलनामा २०८० भदौमा कम्पनीको पोलिसी सरेन्डर दर ११५.१४ प्रतिशतले बढेको छ । अर्थात गत वर्ष ७५ लाख रकमको पोलिसी सरेन्डर भएकोमा चालु आवमा एक करोड ६३ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएका छन् ।
यद्दपि यो रकम अन्य कम्पनीको तुलनामा सर्वाधिक होइन । सरेन्डर मार्फत सबैभन्दा बढी रकम बाहिरिनेको सूचीमा नेपाल लाइफ इन्स्योरेन्स नै अग्रस्थानमा छ । इन्स्योरेन्सबाट भदौमा मात्रै ४० करोड २९ लाख रुपैयाँ सरेन्डर मार्फत बाहिरिएको छ । जुन गत वर्षको तुलनामा भने २.९१ प्रतिशतले घटी हो ।
समीक्षा अवधिमा राष्ट्रिय बीमा संस्थान, मेट लाइफ, एशियन लाइफ, सिटिजन लाइफ, सानिमा रिलायन्स, हिमालयन लाइफ र प्रभु महालक्ष्मी लाइफको बीमा पोलिसी सरेन्डर रकम बढेको छ । उक्त रकम घट्नेमा नेशनल लाइफ, नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), आईएमई लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल र सूर्यज्योति लाइफ रहेका छन् ।
प्रतिशतको आधारमा सन नेपाल लाइफको सरेन्डर रकम सबैभन्दा बढीले घटको छ । गत वर्ष ५८ लाख बराबरको पोलिसी सरेन्डर भएकोमा यो वर्ष ४० लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएका छन् । जुन प्रतिशतको आधारमा ३०.२० प्रतिशतले घटी हो ।