लगानीकर्ता भन्छन् : सेयर बजार २५ प्रतिशत मात्रै बढ्छ

<p>काठमाडौं । सेयर धितो कर्जाको सीमामा गरेको संशोधनप्रति लगानीकर्ताले अझै पनि असन्तुष्टि जनाएका छन् । सेयर धितो कर्जालाई खुल्ला छोड्न माग गर्दै आएका लगानीकर्ताहरु राष्ट्र बैंकको संशोधनले अझै पनि सन्तुष्ट हुन नसकेका हुन् । बिहीबार एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले सेयर धितो राखेर प्रवाह हुने कर्जामा ब्यक्तिगततर्फ १५ करोड रुपैयाँ र संस्थागततर्फ २० करोड रुपैयाँ पुर्याएको [&hellip;]</p>

काठमाडौं । सेयर धितो कर्जाको सीमामा गरेको संशोधनप्रति लगानीकर्ताले अझै पनि असन्तुष्टि जनाएका छन् । सेयर धितो कर्जालाई खुल्ला छोड्न माग गर्दै आएका लगानीकर्ताहरु राष्ट्र बैंकको संशोधनले अझै पनि सन्तुष्ट हुन नसकेका हुन् ।

बिहीबार एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले सेयर धितो राखेर प्रवाह हुने कर्जामा ब्यक्तिगततर्फ १५ करोड रुपैयाँ र संस्थागततर्फ २० करोड रुपैयाँ पुर्याएको छ । यसअघि सेयर धितो राखेर १२ करोड रुपैयाँसम्म कर्जा लिन पाइन्थ्यो । अब सेयर धितो राखेर एउटै बैंकबाट ब्यक्तिले १५ करोड र संस्था वा कम्पनीले २० करोड रुपैयाँसम्म कर्जा पाउने भएका हुन् ।

यद्यपि, सेयरधितो कर्जाको व्यवस्थामा गरिएको संशोधनले सेयर बजार बढ्न सक्ने आँकलन धेरैको छ । राष्ट्र बैंकले सेयर कर्जाको सीमा २५ प्रतिशत मात्रै बढाएको हुँदा सोही अनुपातमा सेयर बढ्न सक्ने आँकलन लगानीकर्ताकाे छ । सेयर कर्जामा भएको संशोधनले बजार नघट्ने तर, सामान्य बढ्न सक्ने अनुमान लगानीकर्ताको छ ।

लगानीकर्ता अम्बिर बोगटी राष्ट्र बैंकको नीतिले सेयर बजार ध्वस्त बनाएको आरोप लगाउँछन् । उनी अर्थतन्त्रमा देखिएको सबै समस्या राष्ट्र बैंकलाई दोष दिन्छन् । बैंकसँग प्रयाप्त तरलता हुँदा पनि कर्जामा सीमा तोक्नु गलत रहेको उनको भनाइ छ ।

‘२ वर्षअघि कोरोना कालमा राष्ट्र बैंकको नीतिले कर्जा प्रवाह अन्दाधुन्द बढ्यो, त्यसको नकारात्मक असर अर्थतन्त्रमा पर्याे, त्यसलाई सुधार गर्न सेयर बजारलाई कडाइ गर्न थाल्यो, सेयर बजार धरासयी बन्यो,’ उनले भने, ‘अहिले २० अर्ब बढी पूँजी भएका बैंक छन् तर, २० करोड मात्रै कर्जा दिनु पर्छ भनेर एउटा क्षेत्रलाई मात्रै लक्षित गर्नु राम्रो होइन्, अहिलेको नीतिले सेयर बजार अघि बढ्दैन ।’

सेयर बजारमा कारोबार गर्न सहज रुपमा कर्जा पाउनु पर्ने माग उनले गरे । साथै, नाकाबन्दीको बेलामा पेट्रोल वितरण गरे जस्तै सेयर कर्जा वितरण गर्ने व्यवस्था ल्याएको उनको भनाइ छ । उनका अनुसार सेयर बजारमा आउने कर्जालाई खुला छोड्नु पर्छ । सेयरमा गरेको लगानी स्थीर सम्पत्ति रहेको बताउँदै उनले लगानीकर्तालाई कर्जा लिन सरल र किफायती ब्याजदर हुनु पर्ने बताए । राष्ट्र बैंकको नीतिले सेयर बजारलाई गिजोल्ने काम मात्रै भएको उनको भनाइ छ ।

‘ब्याजदर सस्तो भयो भने बजारमा लगानी आउने हो, अहिले पनि ब्याजदर उच्च नै छ, नाकाबन्दीको बेलामा पेट्रोल वितरण गरे जस्तै राष्ट्र बैंकले सेयर कर्जा वितरणको व्यवस्था गर्याे, एक/दुई अर्बको मात्रै कारोबार गराउने हो भने अहिलेको नीति ठिक छ तर, बजार माथि बढाउन यो कोटा सिस्टममा पाउने ऋणले पार लाग्दैन,’ उनले भने, ‘आम्दानीको स्रोत भएन भने अन्तिम अवस्थामा घरजग्गा नै बिक्री गरेर समस्या समाधानमा गर्ने हो, सेयर बजार पनि स्थीर सम्पत्ति हो, आवश्यक परेको बेला सेयर बिक्री गरेर समस्या टार्न सकिन्छ ।’

लगानीकर्ता छोटेलाल रौनियार आफूहरुले माग गरे अनुसारको व्यवस्था राष्ट्र बैंकले नगरेको बताउँछन् । राष्ट्र बैंकले सधैं सेयर बजार विपरित नीति ल्याएर मनोबल कमजोर बनाएको उनको आरोप छ । साथै कर्जामा जोखिम भार अहिलेको आवश्यकता नरहेकाले यसलाई हटाउनु पर्ने उनको माग छ ।

‘कर्जाको सीमालाई खुला छोडिदिनु पर्छ भन्ने हाम्रो माग हो, ब्यक्तिगत र संस्थागत राख्नु हुँदैन, जोखिम भारलाई राष्ट्र बैंकले हेर्न चाहेन, यसले ठूलो असर गरेको छ, २६/२७ सय अंकमा बजार हुँदा जोखिम भार १५० प्रतिशत थियो, अहिले बजार १९ सय अंकमा झरिसकेको हुँदा जोखिम भार काम छैन, पूर्व अर्थमन्त्रीहरुले जोखिम भार हटाउनु पर्छ भनेका छन्,’ उनले भने ।

अहिले सेयर कर्जाको सीमा २५ प्रतिशत मात्रै बढेको हुँदा सोही अनुसार बजार बढ्ने उनको अनुमान छ । बैंकहरुमा प्रयाप्त तरलता हुँदा पनि ब्याजदर महँगो भएकाले कर्जा लिन इच्छुक नभएको उनको भनाइ छ ।

सेयर बजार घट्नुमा मुख्य दोषी राष्ट्र बैंक नै रहेको उनको आरोप छ । केही वर्षदेखि पूँजी बजारलाई प्रभाव पार्ने गरि ल्याएका नीतिले ३२ सय अंक पुगेको बजार १९ सय अंकमा झरेको उनले बताए । बजार घट्दा राज्य पाउने राजश्वमा पनि गिरावट आएको उनको भनाइ छ । राष्ट्र बैंकले सेयर बजार मात्रै नभएर समग्र अर्थतन्त्र नै ध्वस्त बनाएको उनको आरोप छ ।

‘२/३ वर्षदेखि राष्ट्र बैंक पूँजी बजारप्रति नकरात्मक नै छ, मौद्रिक नीतिले पूँजी बजारलाई पेलेको पेल्यै छ, जस्तो सीसीडीलाई सीडी गर्याे, जोखिम भार १ सयबाट १५० प्रतिशत पुर्यायो, सेयर कर्जामा १२ करोड बनायो, ब्याजदर बढाउने नीति ल्यायो, बैंकले लघुवित्त राख्न नपाउने, लघुवित्तले १५ प्रतिशतभन्दा बढी लाभांश दिन नपाउने नीतिले बजार घटायो,’ उनले भने, ‘दैनिक २२ अर्ब कारोबार हुँदा वर्षमा १५ अर्ब राजश्व तिर्दै आएको थियो तर, अहिले बजारमा हाहाकार छ, दशैंतिहारमा पनि बजार सुनसान छ ।’

धितोपत्र ब्रोकर एसोशिएसनका अध्यक्ष सागर ढकालले सेयर कर्जामा गरिएको परिवर्तनलाई सकरात्मक रुपमा लिनु पर्ने बताए । २५ प्रतिशत सेयर कर्जा बढेको बताउँदै उनले राष्ट्र बैंकको एकीकृत निर्देशन सकारात्मक रहेको बताए ।

‘सेयर कर्जा पूर्णरुपमा खुला गरेको झनै राम्रो हुन्थ्यो, कम्पनीको सेयर कर्जामा सीमा नतोकेको भए राजश्व धेरै संकलन हुन्थ्यो किनभने ब्यक्तिगत लगानीकर्ता कम्पनी दर्ता गराएर सेयर कर्जा लिन्थे, कम्पनीबाट कारोबार गरेपछि ३० प्रतिशत कर तिर्नु पर्छ, आम्दानी कर पनि आउँथ्यो,’ उनले भने, ‘अहिले ७६ अर्ब सेयर कर्जा बजार छ, अब १५/१६ अर्ब बढ्न सक्छ ।’

उनका अनुसार घरजग्गामा केही खुकुलो व्यवस्था र ब्याजदर घटाउने नीति ल्याएकाले राष्ट्र बैंकले चालेको कदम सकारात्मक छ ।

Share News