काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले हकप्रद सेयर सेयरधनीहरुको नैसर्गिक अधिकार रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र सेबोनको शिक्षा तथा सचेतना सम्बन्धि सम्झौता कार्यक्रममा बोल्दै अध्यक्ष हमालले यस्तो बताएका हुन् ।
उनले कमजोर कम्पनीले नै हकप्रद सेयर जारी गर्ने अभ्यास विश्वभर रहेको बताए । साथै, साधारणसभामा ७५ प्रतिशत सेयरधनीहरुको उपस्थितले पारित गरेपछि बोर्डले निष्काशन गर्न अनुमति दिने उनको भनाइ छ ।
‘हकप्रद सेयर सेयरधनीहरुको नैसर्गीक अधिकार हो, कम्पनी अफ्ठ्यारोमा परेका बेला ७५ प्रतिशत सेयरधनीहरुले साधारण सभाबाट पारित गरेर कम्पनी जोगाउनु पर्छ भन्छन्, हकप्रद सेयर संसारका अन्य देशहरुमा पनि जारी गर्ने अभ्यास छ,’ उनले भने, ‘म २०१७ मा नेपाल आउँदा हकप्रद सेयर जारी गरेका अधिकांश कम्पनीहरुको सेयर मूल्य बढेको थियो तर, अहिले बजारमा हकप्रद सेयर बन्द गर्नु पर्ने आवाज उठेको छ ।’
देश विकास गर्नका लागि सोचमा परिवर्तन र सहकार्य आवश्यक रहेको उनको भनाइ छ । सिस्टम अनुसार सबै अघि बढ्नु पर्ने उनले बताए । अहिले समाजमा देखिएको नकारात्मकताले देश विकास हुन नसक्ने उनको भनाइ छ । सबैको सहकार्यले नै अघि बढ्नु पर्ने उनले बताए ।
‘प्रधानमन्त्री, मन्त्री लगायत कुनै पनि पदाधिकारीलाई असिमित अधिकार दिनु हुँदैन, सिस्टमले चल्नु पर्छ, धितोपत्र बोर्डका अध्यक्षले चाह्यो भने आज आईपीओ बन्द गर्ने, ५ वर्ष पछि खोल्ने अधिकार अध्यक्षलाई दियो भनेसंस्था ध्वस्त हुन्छ,’ उनले भने, ‘त्यसैले कसैलाई पनि असिमित अधिकार दिनु हुँदैन, देश विकास गर्न सकारात्मक सोच र सहकार्य जरुरी छ ।’