काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर कर्जाको सीमा बढाउँदा पनि आइतबारको सेयर बजार बढ्न सकेन । बजार कारोबार शुरु भएदेखि बन्द हुँदा सम्मनै निरन्तर घट्यो ।
अर्थात नेप्से परिसूचक ३५.६७ अंकले घटेर १९२१.२४ बिन्दुमा झर्यो । जुन गत बिहीबारको तुलनामा १.८२ प्रतिशत हो ।
आइतबारको बजार दोहोरो अंकले घट्नुले लगानीकर्ताहरु राष्ट्र बैंकको निर्देशनप्रति असन्तुष्ट रहेको बुझिन्छ । राष्ट्र बैंकले गत बिहीबार एकीकृत निर्देशन जारी गर्दै सेयर धितो कर्जाको सीमालाई बढाएर व्यक्तिगततर्फ १५ करोड र संस्थागत २० करोड रुपैयाँ पुर्याएको थियो । जसप्रति सेयर कर्जाको सीमा खुला गर्नु पर्छ भनेर माग गर्दै आएका अधिकांश लगानीकर्ताहरु असन्तुष्ट रहेको जानकारहरु बताउँछन् ।
यसअघि व्यक्तिगत र संस्थागत दुवैतर्फ १२ करोड रुपैयाँसम्म सेयर धितो कर्जा लिन पाउने व्यवस्था थियो ।
दोहोरो अंकले घटेको बजारमा कारोबार रकम भने गत बिहीबारको तुलनामा बढेको छ । गत बिहीबार एक अर्ब १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा आइतबार भने एक अर्ब ८० करोडको सेयर किनबेच भएको छ ।
त्यस्तै, कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । कारोबारमा आएका १३ वटा समूहमध्ये जीवन बीमा समूह भने २३८ अंकले घटेको छ ।
बजार ओरालो लाग्दा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । जसमध्ये हिमालयन लघुवित्त वित्तीय संस्था र गरिमा डिबेन्चर २०८५ को मूल्य भने प्रतिकित्ता तथा प्रतिथान १० प्रतिशतले घटेको छ ।
बजार दोहोरो अंकले बढ्दा पनि बाराही हाइड्रोपावर पब्लिक र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २ को मूल्य भने प्रतिकित्ता तथा प्रतिइकाई ९.५९ र ९.४० प्रतिशतले बढेको छ । यससँगै बाराही हाइड्रो अन्तिम कारोबार प्रतिकित्ता ५५१ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको प्रतिइकाई ८.५० रुपैयाँमा किनबेच भएको छ ।